काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाएका छन् । उनले आज परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भने ‘सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।’
आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उनको भनाइ थियो । उनले भने ‘हामीलाई यसपटक हेर्नुस् परिवर्तन नभए तपाईँहरूको पार्टीमा समाहित हुन्छौँ ।’ पाँच वर्ष रास्वपालाई काम गर्ने अवसर दिनसमेत उनले मतदातालाई आग्रह गरे । जेनजीको भावनालाई आत्मसात् गर्दै परिवर्तनको पक्षमा मतदान गर्न उनले आग्रह गरे ।
त्यसैगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको उत्पादनलाई प्रयोग गर्ने प्रचलन बढाउन आवश्यक रहेको बताए । अहिले कृषि र पर्यटन क्षेत्रमा समस्या रहेकाले उनले आगामी दिनमा यी समस्याहरूको समाधान गर्न आफूहरूलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।
चितवनले सिङ्गो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको बताउँदै उनले चितवनले बदलेको देशलाई सबैले मिलेर सहयोग गर्न आवश्यक रहेको बताए । उनले भने ‘आफ्नो घरमा खाने गरेको खानेकुरा पर्यटकलाई बेचेर पर्यटन व्यवसायमात्रै गरेका छैनन्, नेपाललाई विश्वमा चिनाएका छन् । चितवनवासीबाट सिङ्गो देशले सिक्नुपर्छ ।’
किसानले उत्पादन गरेको दूध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटका कारण भएको उनले बताए । कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जनतालाई भयबाट मुक्त गर्दै आशाको राजनीतिबाट माथि उठाउन आएको बताए ।
कार्यक्रममा रास्वपाका नेताहरू सोविता गौतम, हरि ढकाल, गण्डकी प्रदेश अध्यक्ष राजन गौतम, केन्द्रीय समस्य राजन गौतमलगायतले सम्बोधन गरेका थिए ।