२३ पुष २०८२, बुधबार
Follow Us

‘संख्यामा मात्र होइन, भावनामा विस्तार हुँदै नेपालको पर्यटन’

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८२, सोमबार ०६:३०

काठमाडौं । नेपाल पर्यटन बोर्डले हालै आफ्नो २७ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा सार्वजनिक तथ्यांकहरूले सन् २०२५ मा नेपाल भित्रिने पर्यटकको संख्या र उनीहरूको बसाइ अवधि दुवैमा वृद्धि भएको देखाएको छ ।

तर यो उत्साहजनक तथ्यांकको पछाडि अंकगणित मात्र छैन, नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन थालिएको एक ‘मौन क्रान्ति’ पनि लुकेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित ‘दिगो पर्यटन परियोजना’ ले परम्परागत पर्यटनको परिभाषा बदल्दै समावेशीताको नयाँ बाटो कोर्न सफल भएको हो ।

गन्तव्यको विकेन्द्रीकरणः सगरमाथा भन्दा पर
विगत लामो समयदेखि नेपालको पर्यटन सगरमाथा (एभरेस्ट बेस क्याम्प) र अन्नपूर्ण सर्किटजस्ता स्थापित गन्तव्यहरूमा मात्र केन्द्रित रहँदै आएको थियो । तर दिगो पर्यटन परियोजनाले अब पर्यटनलाई विकेन्द्रित गर्ने रणनीति लिएको छ ।

परियोजना प्रमुख धर्म दवाडीका अनुसार अब चल्तीका पदमार्गमा मात्र निर्भर नभई ओझेलमा परेका तर उच्च सम्भावना बोकेका गन्तव्यहरूको विकासमा जोड दिइएको छ । ‘हामीले अपि, मनास्लु र कञ्चनजङ्घाजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर तिनका पदमार्ग र सेवा सुविधाको स्तरोन्नति गरिरहेका छौँ ।’ दवाडी भन्छन्, ‘राष्ट्रिय स्तरका पदमार्गहरूको दायरा फराकिलो बनाउनु आजको आवश्यकता हो ।’

५० करोडको ‘अदृश्य बजार’ र बहिरा गाइड
परियोजनाले विश्व पर्यटन बजारमा रहेको ठूलो ‘ग्याप’ र सम्भावनालाई पहिचान गरेको छ । तथ्यांकअनुसार विश्वमा करिब ५० करोड मानिसहरू बहिरा वा सुस्त श्रवण शक्ति भएका छन् । भाषा र संवादको कठिनाइले खुम्चिएर बसेको यो विशाल जनसंख्यालाई आकर्षित गर्न नेपालले दक्षिण एसियामै उदाहरणीय पहल गरेको छ ।

परियोजनाले नेपालमै पहिलो पटक ‘बहिरा ट्रेकिङ गाइड’ (Deaf Trekking Guide) उत्पादन गरेको छ । ‘संसारका ५० करोड बहिरा जनसंख्यामध्ये केही अंश मात्रै नेपाल भित्र्याउन सकियो भने पनि हाम्रो वार्षिक लक्ष्यमा २ देखि ४ लाख पर्यटक थप्न सकिन्छ ।’ परियोजना प्रमुख दवाडी बताउँछन् ।

काठमाडौं र पोखरामा केन्द्रित रहेर बहिरा युवाहरूलाई ट्रेकिङ गाइड मात्र नभई बरिस्टा (कफी बनाउने) र हस्तकलाको तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । यसले एकातिर रोजगारी सिर्जना गरेको छ भने अर्कोतिर विश्व समुदायमा नेपाललाई ‘बहिरा–मैत्री’ (Deaf–friendly) गन्तव्यका रूपमा चिनाउँदै छ ।

ह्विलचियरमा कला र इन्द्रेणी पर्यटन
समावेशीताको यो अभियानमा शारीरिक रूपमा फरक क्षमता भएका र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि पर्यटनको मूलधारमा ल्याइएको छ । ह्विलचियर प्रयोगकर्ताहरूलाई ‘कन्टेम्पररी आर्ट’ (समकालीन कला) को तालिम दिइएको छ, जसले गर्दा उनीहरू पर्यटकीय गन्तव्यमै बसेर लाइभ आर्ट सिर्जना गरी आम्दानी गर्न सक्ने भएका छन् ।

‘हाम्रा पर्यटकीय गन्तव्यहरूमा उनीहरू बसेर आर्टमार्फत स्वरोजगार बन्न सक्छन् भन्ने विचारले यो कार्यक्रम ल्याइएको हो र यसको नतिजा असाध्यै सुखद देखिएको छ’ दवाडीले भने । त्यस्तै, सीमान्तकृत मानिने लैंगिक अल्पसंख्यक समुदायलाई पनि पर्यटनमा सम्मानजनक स्थान दिने प्रयास परियोजनाले गरेको छ ।

दक्ष जनशक्ति र एकीकृत विकास
युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा परियोजनाले नेपालमै अवसर सिर्जना गर्न र्‍याफ्टिङ गाइडहरूको क्षमता अभिवृद्धि र लाइसेन्सिङमा सहजीकरण गरेको छ । साथै, राष्ट्रिय निकुञ्जका नेचर गाइडहरूलाई ‘वाइल्डलाइफ फोटोग्राफी’ को तालिम दिएर पर्यटकको बसाइ लम्ब्याउने रणनीति लिइएको छ ।

पर्यटनलाई तल्लो तहदेखि नै बुझाउन देशका १ सय ५० भन्दा बढी स्कुल र कलेजमा ‘दिगो पर्यटन क्लब’ गठन गरिएका छन् । अपि हिमालजस्ता दुर्गम क्षेत्रमा केवल बाटो बनाएर मात्र नभई, स्थानीयलाई उद्यमशीलता, उद्धार र प्राथमिक उपचारको तालिम दिएर ‘एकीकृत प्याकेज’ मा काम भइरहेको छ । यसले गन्तव्यलाई सुरक्षित र भरपर्दो बनाउन मद्दत पुर्‍याएको छ ।

पर्यटन बोर्ड र यूएनडीपीको यो सहकार्यले पर्यटन केवल घुमघाम मात्र नभई सामाजिक न्याय र आर्थिक रूपान्तरणको माध्यम हो भन्ने पुष्टि गरेको छ । अपाङ्गता भएका, सीमान्तकृत र स्थानीय समुदायको मुस्कानमा नै अबको ‘समृद्ध नेपाल’ को तस्बिर कोरिएको छ ।

धेरै पढिएको