काठमाडौं । नेपाली कांग्रेसको पछिल्लो आन्तरिक सरगर्मीलाई लिएर युवा पुस्ताकी अभियन्ता भावना राउतले सकारात्मक टिप्पणी गरेकी छन् । उनले जारी विशेष महाधिवेशनको प्रक्रियालाई केवल एउटा पार्टीको आन्तरिक मामिला मात्र नभई समग्र देशकै राजनीतिक संस्कारका लागि नयाँ सुरुवात भएको दाबी गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले कांग्रेसभित्र देखिएको यो लहरलाई ‘विद्रोह’ भन्नु गलत हुने तर्क गरेकी छन् । यसलाई उनले नेतृत्वप्रतिको ‘आन्तरिक जवाफदेहिता’ का रूपमा परिभाषित गरेकी छन् । पार्टीभित्रको लोकतान्त्रिक प्रणाली सुदृढ हुनु भनेकै देशको समग्र लोकतान्त्रिक स्वास्थ्यका लागि अनिवार्य सर्त भएको उनको बुझाइ छ ।
विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको वैचारिक धारप्रति ऐक्यबद्धता जनाउँदै उनले लेखेकी छन्, “पार्टीभित्र प्रश्न उठाउनु, नेतृत्वलाई उत्तरदायी बनाउनु र असहमतिको सम्मान गर्नु अनुशासनहीनता होइन । यो त एउटा जीवन्त लोकतान्त्रिक दलको न्यूनतम मापदण्ड हो ।” उनले लोकतन्त्र भाषणमा मात्र सीमित नभई दलको आन्तरिक अभ्यासमा देखिनुपर्नेमा जोड दिएकी छन् ।
राउतको तर्कअनुसार नेपाली कांग्रेस जस्तो ठूलो र ऐतिहासिक दलले आफ्नै संरचनाभित्र लोकतन्त्रको सफल अभ्यास गर्न नसके त्यसको प्रत्यक्ष असर मुलुकको लोकतान्त्रिक प्रणालीमा पर्नेछ । नेतृत्वले जब आलोचनात्मक स्वरहरूलाई दबाउन शक्ति प्रयोग गर्छ, तब परिवर्तनको आवश्यकता अझ बढी प्रस्ट भएर आउने जिकिर उनले गरेकी छन् ।
आइतबारको घटनाक्रमलाई नै अन्तिम जित ठान्न हतार हुने भए पनि यसले एउटा आशावादी संकेत गरेको उनको भनाइ छ । संस्थाभित्रै उभिएर नेतृत्वलाई प्रश्न गर्ने राजनीतिक साहस देखिनुले नेपालको राजनीतिमा नयाँ र स्वस्थ संस्कारको विकास हुने आशा उनले व्यक्त गरेकी छन् ।