१ माघ २०८२, बिहीबार
Follow Us

सुनसरीमा ट्रक दुर्घटना हुँदा मार्बलले किचिएर पाँच मजदुरको मृत्यु

नेपालब्रिटेन संवाददाता
१ माघ २०८२, बिहीबार ०६:५४

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ स्थित फूलचोकमा बिहान भएको ट्रक दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको छ । माघे संक्रान्तिको बिहानीपख भएको उक्त दुर्घटनामा मृत्यु हुनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका-१ का बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा बर्जु-१ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो । विराटनगरबाट मार्बल लोड गरी हुलाकी राजमार्ग हुँदै पश्चिमतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकको पछाडिको भागमा मार्बलसँगै सवार उनीहरूलाई सोही मार्बलले किचेको थियो । मार्बलको भारीले किचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा उक्त ट्रकमा चालकसहित ९ जना सवार थिए । जसमा अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडिको डिक्कामा पाँच जना मजदुर रहेका थिए । पछाडि बसेका पाँचै जनाले ज्यान गुमाएका छन् भने क्याबिनमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्रकका चालक भने फरार भएका छन् ।

धेरै पढिएको