काठमाडौं । नेकपा एमालेले पाल्पा–२ मा रामबहादुर राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको जोड बलमा राउतलाई उम्मेदवार बनाइएको हो ।
यो क्षेत्रमा यसअघि ठाकुर गैरेले चुनाव जितेका थिए । यस पटक भने उनले टिकट पाएनन् । गत निर्वाचनमा गैरेले २८ हजार ६४५ मत ल्याएर निर्वाचित भएका थिए । प्रतिस्पर्धी सोमप्रसाद पाण्डेयले २४ हजार ८९९ मत ल्याएका थिए ।
पार्टीको महाधिवेशनमा अर्को टिमबाट चुनाव लडेको भन्दै ओलीले गैरेलाई टिकट दिएनन् ।
ओली आफ्ना आलोचकलाई खासै रुचाउँदैनन् । गैरे पनि ओलीका कामबारे प्रश्न उठाउँथे । गैरेले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदा उनलाई टिकटबाट बन्जीत गरिएको गैरे निकट एक नेताले बताए ।
तर, दुई पटक पालिका अध्यक्ष हारेका रामबहादुर राउतलाई टिकट दिइयो । उनी ओली समूहका मानिन्छन् । राउत पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा यसअघि दुई पटक पालिका अध्यक्षमा पराजित भइसकेका नेता हुन् । तर, ओलीले उनैलाई प्रतिनिधि सभाको टिकट थमाइदिए ।
गैरेलाई टिकट नदिएपछि पाल्पा एमालेमा विरोध सुरु भएको छ । जिल्लाका नेताहरूले टिकटबारे पुनः विचार गर्न ओलीसँग आग्रह गरेका छन् ।