२४ फाल्गुन २०८२, आईतवार
Follow Us

चुनावमा होमियो देश : यी क्षेत्रमा रोचक भिडन्त

नेपालब्रिटेन संवाददाता
७ माघ २०८२, बुधबार ०४:५४

काठमाडौं । मुलुक आगामी प्रतिनिधिसभा निर्वाचनको संघारमा होमिँदै गर्दा प्रत्यक्षतर्फको निर्वाचनका लागि उत्साहपूर्ण उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रका लागि कुल ३ हजार ४ सय ८४ जनाले आफ्नो दाबी पेस गरेका छन् । यो संख्या अघिल्ला दुई निर्वाचन (२०७४ र २०७९) को तुलनामा निकै बढी हो ।

मंगलबार भएको मनोनयन दर्तामा ६८ राजनीतिक दलका २ हजार २ सय ९७ र १ हजार १८७ स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् । आयोगको तथ्यांकअनुसार उम्मेदवारीमा पुरुषको वर्चस्व कायमै देखिएको छ । कुल उम्मेदवारमध्ये ८८.६३ प्रतिशत (३,०८८) पुरुष छन् भने महिलाको उपस्थिति ११.३४ प्रतिशत (३९५) मात्रै रहेको छ । अन्य समूहबाट एक जनाको उम्मेदवारी परेको छ ।

उमेर समूहका आधारमा यस पटक ३६ देखि ५० वर्ष उमेरका उम्मेदवार सबैभन्दा बढी (४६.२१%) छन् । २५ देखि ३५ वर्षका युवाहरूको सहभागिता पनि १६.७३ प्रतिशत (५८३ जना) देखिएको छ, जसले राजनीतिमा पुस्तान्तरणको बहसलाई थप बल पुर्‍याएको छ । ५१ देखि ६५ वर्षका उम्मेदवार ३१.२९ प्रतिशत र ६५ वर्षमाथिका अनुभवी नेताहरू ५.७७ प्रतिशत मात्रै चुनावी मैदानमा छन् ।

यसपटक रोचक भिडन्त !
यस पटकको निर्वाचनमा केही क्षेत्रहरू निकै चर्चाको केन्द्रमा छन् । विशेषगरी झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौंको मेयर पद छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सरेका बालेन्द्र शाहबीचको भिडन्तलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

त्यस्तै, कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’रुकुम पूर्वबाट प्रतिस्पर्धा गर्दैछन् । रास्वपा सभापति रवि लामिछाने चितवन-२ र उज्यालो नेपालका कुलमान घिसिङ काठमाडौं-३ बाट चुनावी मैदानमा छन् । यस पटकको अर्को आश्चर्यजनक पक्ष भनेको २०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति हो ।

धरानका पूर्वमेयर हर्कराज राईले श्रम संस्कृति पार्टीबाट सुनसरी-१ मा उम्मेदवारी दिएका छन् भने सप्तरी-२ र ३ मा क्रमशः सीके राउत र उपेन्द्र यादवबीचको क्षेत्रीय शक्ति संघर्ष रोचक हुने देखिएको छ । देशभरमा सबैभन्दा बढी उम्मेदवारी धनुषा क्षेत्र नं. ३ मा परेको छ, जहाँ ४५ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । अर्कोतर्फ, भौगोलिक रूपमा विकट र कम मतदाता रहेको मनाङमा सबैभन्दा कम अर्थात् ५ जनाको मात्रै उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सरकारको तयारी
जेन-जी विद्रोहपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेकी छन् । उनले यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कोशेढुंगा भन्दै निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । ‘अब मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भएको छ, सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ,’ प्रधानमन्त्री कार्कीले विज्ञप्ति मार्फत भनेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै मतदातालाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । बिहीबार नामावली प्रकाशन, शुक्रबार नाम फिर्ता लिने समय र सोही दिन साँझसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

धेरै पढिएको