काठमाडौं । संविधान जारी भएयता पहिलो पटक ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले आ-आफ्नै चुनाव चिह्न र उम्मेदवारसहित चितवन-३ को मैदानमा छन् ।
तर, यहाँको चुनावी तापक्रम भने यी दुई पुराना दलभन्दा पनि नेकपाकी उम्मेदवार रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमबीचको प्रतिस्पर्धाले बढाएको छ । कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेको यो ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रमा यसपटक दुई फरक पुस्ता र पृष्ठभूमि भएका महिला नेतृहरू आमने-सामने हुँदा देशभरको ध्यान यता खिचिएको छ ।
रेनु दाहाल : ‘विकास मोडल’ को परीक्षा
भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएकी रेनु दाहालका लागि यो चुनाव विगतका कामको अग्निपरीक्षा हो । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा (दोस्रो पटक फराकिलो मतान्तरसहित) मेयर जितेकी रेनुसँग ८ वर्ष महानगर चलाएको अनुभव छ ।
विशेषगरी, भरतपुरमा बाटोघाटो, पूर्वाधार र विकास निर्माणमा उनले पुर्याएको योगदानलाई उनका समर्थकहरूले जितको मुख्य आधार मानेका छन् । ‘भरतपुरले ५/७ वर्षमा विकास निर्माणमा कायापलट गर्यो, यो गुन मतमार्फत तिर्नुपर्छ,’ भरतपुर-९ की सीता बोहरा जस्ता मतदाताको भनाइले रेनुको ‘विकास कार्ड’ बलियो देखिन्छ ।
तर, रेनुका लागि चुनौती कम छैनन् । विगतमा कांग्रेससँगको गठबन्धनका कारण सहज जित निकालेकी रेनुलाई यसपटक कांग्रेसकै उम्मेदवार टेकप्रसाद गुरुङ मैदानमा हुँदा मत बाँडिने डर छ । साथै, आलोचकहरूले उनलाई पिता प्रधानमन्त्री हुँदा मात्र बजेट ल्याएको र माडी क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउने गरेका छन् ।
सोविता गौतम : युवा जोस र परिवर्तनको हुंकार
अर्कोतर्फ, २०७९ को निर्वाचनमा काठमाडौं-२ बाट ‘हेभीवेट’ नेताहरूलाई हराउँदै उदाएकी सोविता गौतम यसपटक चितवन-३ रोजेर नयाँ रिस्क लिएकी छन् । कानुनमा स्नातकोत्तर गरेकी ३० वर्षीया सोविताले संसदमा खेलेको भूमिका र वाकपटुताका कारण युवा पुस्तामा उनको राम्रो क्रेज छ ।
चितवनका मतदाता, विशेषगरी माडी क्षेत्रका युवाहरू, अब विकासका नाममा पुल-पुलेसा मात्र होइन, देशलाई दिशा दिने कानुन बनाउन सक्ने सांसद खोजिरहेका छन् । ‘पुल र बाटो त स्थानीय तहले पनि बनाउँछ, सांसदले त गतिलो ऐन बनाउनुपर्छ,’ माडीका २८ वर्षीय प्रविन अधिकारीको यो भनाइले सोविताको एजेन्डालाई बल पुर्याउँछ ।
गत निर्वाचनमा चितवन-३ मा रास्वपाले प्रत्यक्षतर्फ तेस्रो स्थान हासिल गरे पनि समानुपातिकमा सबैभन्दा बढी (२८,४०१) मत ल्याएको थियो । यही गणित र ‘रवि लामिछाने फ्याक्टर’ ले सोवितालाई रेनुको बलियो प्रतिस्पर्धी बनाएको छ ।
कांग्रेस-एमालेको पुनरागमन र राप्रपाको दाउ
लामो समयपछि गठबन्धनको चंगुलबाट मुक्त भएर आफ्नै उम्मेदवार उठाउँदा कांग्रेस र एमालेका कार्यकर्तामा उत्साह त छ, तर नतिजा आफ्नो पक्षमा पार्न उनीहरूलाई फलामको चिउरा चपाउनु सरह छ । कांग्रेसका ७७ वर्षीय पाका नेता टेकप्रसाद गुरुङ र एमालेका ५६ वर्षीय शंकरराज थपलिया संगठनको मत जोगाउने कसरतमा छन् ।
यस्तै, २०७९ मा यही क्षेत्रबाट जितेका राप्रपा नेता विक्रम पाण्डेले यसपटक ‘जेन-जी’ को भावना समेट्न भन्दै ४७ वर्षीय दीपक थापामगरलाई अघि सारेका छन् । पाण्डेको प्रभाव क्षेत्र मानिने यहाँ राप्रपाले पनि त्रिकोणात्मक प्रतिस्पर्धालाई चतुष्कोणीय बनाउन सक्छ ।
चितवन-३ को भूगोलमा पर्ने माडी नगरपालिकाको पीडा भने छुट्टै छ । द्वन्द्वकालमा माओवादीले गराएको बाँदरमुढे विस्फोटको घाउ अझै निको भएको छैन । पीडित कृष्णप्रसाद अधिकारी जस्ता मतदाताहरू पुराना दलहरूले न्याय नदिएकोमा आक्रोशित छन् । जंगली जनावरको आतंक र निकुञ्जको समस्या समाधान गर्ने नेताको खोजीमा माडीका मतदाता भौंतारिरहेका छन् । कुल १ लाख ५५ हजार ३ सय ९ मतदाता रहेको चितवन–३ मा यसपटकको लडाइँ परम्परागत शक्ति र उदाउँदो शक्तिबीचको हो ।