१९ माघ २०८२, सोमबार
Follow Us

…जसले ‘इभनिङ वाक’को बहानामा श्रीमतीलाई भीरबाट हुत्याए

नेपालब्रिटेन संवाददाता
१९ माघ २०८२, सोमबार ०६:०९

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका-६, लिबाङमा एक १९ वर्षीय युवकले आफ्नै भाइसँग मिलेर श्रीमतीको हत्या गरेका छन् । परपुरुषसँग सम्बन्ध रहेको शंकामा १९ वर्षीय अनिल घर्तीले १७ वर्षीय भाइको सहयोगमा १९ वर्षीया श्रीमती शर्मिलाको योजनाबद्ध हत्या गरेको रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गत माघ १६ गते राति ‘इभनिङ वाक’ जाने बहानामा अनिलले शर्मिलालाई घर नजिकैको भीरमा पुर्‍याएका थिए । त्यहाँ पुगेपछि ‘धोकेबाज’ भन्दै रेलिङमा टाउको ठोक्काएर घाइते बनाई उनलाई पहिलोपटक भीरबाट तल खसालिएको थियो । शर्मिला करिब ३० मिटर तल रूखमा अड्किएको देखेपछि दाजुभाइ नै तल ओर्लिएर उनलाई पुनः १५० मिटर मुनि खोल्सामा हुत्याएका थिए ।

घटनालाई भवितव्य देखाउन उनीहरूले भोलिपल्ट बिहान मात्र ‘घाँस काट्न जाँदा भीरमुनि मृत फेला पारेको’ भन्दै परिवार र प्रहरीलाई खबर गरेका थिए । तर, शव फेला परेको स्थान र खसेको प्रकृतिको प्राविधिक विश्लेषण गर्दा प्रहरीलाई शंका लागेपछि अनुसन्धान अघि बढाइएको थियो ।

प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार, ‘शव पुग्नै नसक्ने ठाउँमा फुटबल फालेजस्तै गरी फालिएको अवस्थामा भेटिएपछि शंका उब्जियो । कडा केरकारपछि श्रीमान् अनिलले आफ्नै भाइसँग मिलेर हत्या गरेको स्वीकार गरेका छन् ।’

दुई वर्षअघि प्रेम विवाह गरेका उनीहरूबीच पछिल्लो समय सम्बन्ध चिसिएको थियो । पक्राउ परेका दुवै दाजुभाइविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी ‘कर्तव्य ज्यान’ मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको