२२ माघ २०८२, बिहीबार
Follow Us

जनताबाट तिरस्कृतहरूसँग तालमेल हुँदैन, एक्लै लडेर पहिलो पार्टी बन्छौं : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२२ माघ २०८२, बिहीबार ०५:३४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टी मुलुककै प्रमुख राजनीतिक शक्तिको रूपमा उदाउने दाबी गरेका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा आयोजित पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

बिहीबार बिहान करिब एक घण्टा चलेको जुम बैठकमा संयोजक प्रचण्डले कुनै पनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगरी नेकपा एक्लै निर्वाचनको मैदानमा उत्रने स्पष्ट पारे । उनले नेकपाले जनस्तरबाट अभूतपूर्व समर्थन प्राप्त गरिरहेको उल्लेख गर्दै प्रत्यक्षतर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेभन्दा बढी सिट जितेर पहिलो पार्टी बन्ने आधार तयार भइसकेको बताए । ‘हामी कुनै पनि शक्तिसँग चुनावी वैशाखी टेकेर अघि बढ्दैनौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘जनताबाट तिरस्कृत भइसकेका शक्तिहरूसँग हाम्रो सहकार्य सम्भव छैन । नेकपा आफ्नै बुतामा चुनाव लड्छ र पहिलो शक्ति बनेर देखाउँछ ।’

प्रचण्डले पछिल्लो समय एमालेसँग कतिपय निर्वाचन क्षेत्रमा तालमेल हुन सक्ने भनी फैलाइएका हल्लाहरूको कडा खण्डन गरे । उनले त्यस्ता भ्रमपूर्ण सूचनाको पछि नलाग्न कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन उच्च मनोबलका साथ चुनावी अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

बैठकमा पार्टीका सहसंयोजक माधव कुमार नेपालले पनि विचार र सिद्धान्त मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद हुनु स्वभाविक भए पनि निर्वाचनमा भने नेकपा ‘एकलै’ प्रतिष्पर्धामा उत्रने बताए । उनले भने, ‘हामी आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने सामर्थ्य राख्छौँ । कसैको सहारा लिएर निर्वाचनमा जाने पक्षमा हामी छैनौँ ।’

उनले एमालेसँगको तालमेलको सम्भावनालाई पूर्णतः खारेज गर्दै आफ्नै सांगठनिक शक्तिका आधारमा परिणाम हात पार्ने अठोट व्यक्त गरे । बिहान ८ बजे सुरु भएको उक्त बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपाले आफ्नो संगठन परिचालन र जनसम्पर्क अभियानलाई तीव्र पारेको छ ।

धेरै पढिएको