२६ माघ २०८२, सोमबार
Follow Us

३३ किलो सुन तस्करी प्रकरणः अदालतले गोरेलाई थपिदियो १० वर्ष कैद

नेपालब्रिटेन संवाददाता
२६ माघ २०८२, सोमबार १४:१०

काठमाडौं । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका गोरे भनिने चुडामणि उप्रेतीको सजाय थप भएको छ । उच्च अदालत विराटनगरले गोरेलाई १० वर्ष कैद सजाय थप गर्ने फैसला गरेको हो । यसअघि जिल्ला अदालत मोरङले सो प्रकरणका मुख्य अभियुक्त गोरेलाई आजन्म काराबासको सजाय सुनाएको थियो ।

उच्चका न्यायाधीशहरु महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासमा सनम शाक्य हत्या कसुरमा गोरेलाई थप १० वर्ष कैद सजाय सुनाएको हो । तर, सोही प्रकरणमा जिल्लाबाट समान जन्मकैदको सजाय पाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको सजाय उच्च अदालतले १० वर्ष घटाइदिएको छ । अब उनीहरुको जेल सजाय १० वर्ष मात्र कायम भएको छ ।

सनम हत्याका मतियार मदन सिलवाललाई जिल्लाको फैसला उल्ट्याउँदै तीन वर्ष मात्र कैद सजाय भएको छ । लाक्पा शेर्पा र भविन तामाङबारे भने जिल्ला अदालतको आजीवन काराबासको सजाय सदर भएको छ ।

सो प्रकरणमा जोडिएका प्रहरी अधिकारीहरु पूर्वडिआर्इजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपी सञ्जयबहादुर राउत, प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सफाई पाएका छन् । यसअघि जिल्ला अदालत मोरङले पनि उनीहरुलाई सफाइ दिएको थियो ।

०७४ सालमा थाइल्याण्डबाट आएको तस्करीको साढे ३३ किलो सुन गायब भएपछि गोरेका सहयोगी मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरिएको थियो ।

सरकारले गठन गरेको सुन तस्करी छानबिन आयोगको जाँचबुझ प्रतिवेदनका आधारमा सुन तस्करी, अपहरण तथा हत्या कसुरमा प्रहरीले जिल्ला अदालत मोरङमा मुख्य अभियुक्त गोरेसहित ७७ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । तर, १० जनालाई मात्र जन्मकैदको फैसला भएको थियो ।

धेरै पढिएको