फिक्कल (इलाम)- इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ ।
शनिबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोट्र्स क्लब इलामलाई ४–२ गोलअन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो ।
दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला र सुजिता तामाङले एक–एक गोल गरिन् । जनता सेभेनका तर्फबाट रेखा विष्ट र कल्पना जिम्बाले समान एक–एक गोल फर्काइन् । खेलको दोस्रो मिनेटमै जनता सेभेनकी रेखा विष्टले पेनाल्टी क्षेत्रबाट गोल गर्दै टिमलाई अग्रता दिलाइन् । तर त्यो अग्रता धैरै समय टिक्न सकेन । सातौँ मिनेटमा दारिम्बाकी स्मिता लिम्बूले हेडमार्फत गोल गरी खेल १–१ को बराबरीमा ल्याइन् । चौधौँ मिनेटमा सलिना कोइरालाले गोल गर्दै दारिम्बालाई २–१ को अग्रता दिलाइन् । कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै २२ औं मिनेटमा पुनः स्मिता लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–१ बनाइन् । उनान्तीसौँ मिनेटमा जनता सेभेनकी कल्पना जिम्बाले रिबाउन्ड बललाई सदुपयोग गर्दै अन्तर ३–२ मा झारिन् ।
पहिलो हाफमा एक गोलले पछि परेको जनता सेभेन दोस्रो हाफमा पनि लयमा फर्कन सकेन । ५३औँ मिनेटमा दारिम्बाकी गोलकिपर सुजिता तामाङले फ्रिकिकमार्फत गोल गर्दै टिमलाई ४–२ को अन्तरमा जित सुनिश्चित गरिन् ।
सुरुआती अग्रता लिए पनि जनता सेभेन खेल अवधिभर दबाबमा रह्यो । दारिम्बाले निरन्तर आक्रमण गर्दै विपक्षी पोष्टमा बल पुर्याएको थियो भने जनता सेभेनका खेलाडीलाई बल नियन्त्रण र पास वितरणमा कठिनाइ परेको देखिन्थ्यो । उपाधिसँगै विजेता दारिम्बाले नगद रु तीन लाख ७० सहित ट्रफी हात पार्यो । उपविजेता बनेको जनता सेभेनले नगद रु दुई लाख ७० मा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दारिम्बाकी सुजता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बाकै मनिता तामाङ, उत्कृष्ट खेलाडी उपविजेता जनता सेभेनकी रेखा विष्ट, उदयीमान खेलाडी जनता सेभेनकै नविना श्रेष्ठ र सर्वाधिक गोलकर्ता जनता सेभेनकै सरिता नाथ (चार गोल) घोषित भइन् । उनीहरूले जनही नगद रु पाँच हजार ७० सहित ट्रफी प्राप्त गरेको आयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो ।
स्थानीय किरात धर्मगुरुआमा पवित्रहाङमा साँवा (लिङदेन)को ७०औँ जन्मोत्सवका अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी एवं भारत दार्जिलिङका गरी आठ महिला टोलीको सहभागिता थियो ।