काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् ।
झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभइ धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको बताए ।
आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे र सडकका लागि छुट्याएको करोडौँको बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै उनले आक्रोश व्यक्त गरे । वर्तमान सत्ता गठबन्धनले विकास विरोधी काम गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले धिमाल जातिलाई ‘धर्तीपुत्र’ र ‘प्रथम नागरिक’ को संज्ञा दिँदै उनीहरूको पहिचान मेटाउन खोजिएको बताए । आफू २०२० सालदेखि नै धिमाल समुदायसँग निकट रहेको स्मरण गर्दै ओलीले वि.सं. २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय र उद्योग सञ्चालन गर्न १० बिगाहा जमिन भोगाधिकार दिएको तथ्य उल्लेख गरे ।
अध्यक्ष ओलीले धिमाल समुदायबाट शिक्षित युवाहरू नेतृत्वमा आउन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उपयुक्त प्रतिनिधित्वका लागि एमालेले विशेष ध्यान दिने समेत बताए । शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षण नै आफ्नो मुख्य एजेण्डा रहेको भन्दै उहाँले कसैको भ्रममा नपर्न आग्रह गरे ।