काठमाडौं । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले फाल्गुन ३ गते राती १२ बजेदेखि निर्वाचन प्रचार प्रसारको १५ दिने समय सीमा शुरु भएको घोषणा गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राजनीतिक दल र उमेदवारहरूले फाल्गुन १८ गते राती १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् । त्यसपछि ‘मौन अवधि’ शुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ ।
राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उमेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ । भण्डारीकाअनुसार नेपाल सरकार, प्रदेश सरकार र मन्त्रीहरूले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाउने छैनन् । यसको कडा निगरानीका लागि केन्द्रिय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको उहाँले बताए ।
अधिकांश दलहरूले निर्वाचनका लागि आफ्नो घोषणा पत्र वा प्रतिवद्धता पत्र आयोगमा पेश गरिसकेको बताए । आईतवार रातीसम्मको समय सीमा तोकिएको र केही दलहरू अझै प्रक्रियामा रहेको आयोगले जानकारी दिएको बताए ।
मुलुकको सुशासन र विकासका योजनाहरू समेटिएको यो दस्तावेज दलहरूको कानूनी र नैतिक दायित्व रहेको कार्यवाहक आयुक्त भण्डारीले बताए । आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुरक्षित गर्न कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र आम मतदातालाई सहयोगको अपिल गरेको छ ।