७ फाल्गुन २०८२, बिहीबार
Follow Us

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०८२, बिहीबार १३:५९

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका नौ स्की खेलाडीमध्ये आठ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ ।

मंगलबार बिहान क्यासल पिक क्षेत्रमा हिमपहिरो गएको थियो । प्रारम्भिक चरणमा छ जना जीवित उद्धार गरिएका थिए । तीमध्ये दुई जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसपछि व्यापक खोजी अभियान चलाइए पनि आठ जनाको मृत्यु पुष्टि भएको हो ।

नेभाडा काउन्टीका शेरिफ सानान मुनले एक सदस्य अझै हराइरहेको र आँधी, तीव्र हावा तथा बाक्लो हिमपातले खोजी कार्य अवरुद्ध गरिरहेको बताए। “अत्यन्त खराब मौसमले काम गर्नै कठिन बनाएको छ”, उनले भने।

स्थानीय सुगर बाउल एकेडेमीले केही पीडितहरू आफ्नो निजी स्की–केन्द्रित विद्यालयसँग सम्बन्धित रहेको जनाएको छ । विद्यालयका कार्यकारी निर्देशक स्टिफन म्याकमहोनले समुदाय गहिरो शोकमा रहेको उल्लेख गरे ।

घटनाका बेला ११ ग्राहक र चार मार्गनिर्देशकसहितको समूह ब्याककन्ट्री यात्राबाट आधार शिविरतर्फ फर्कँदै थियो । चालिसभन्दा बढी उद्धारकर्मीले खोजी सुरु गरेका थिए, तर मौसमका कारण प्रयास प्रभावित भयो ।

सिएरा नेभाडा पर्वत शृङ्खलामा शक्तिशाली आँधीका कारण केही स्थानमा आठ फिटसम्म हिमपात हुन सक्ने राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ । प्लेसर काउन्टीका शेरिफ वेन वूले मौसम सुधार नभएसम्म पहाडी क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमलाई घटनाबारे जानकारी गराइएको छ । अधिकारीहरूले ब्याककन्ट्री स्की खेल स्वाभाविक रूपमा जोखिमपूर्ण हुने स्मरण गराउँदै सावधानी अपनाउन आग्रह गरेका छन् ।

धेरै पढिएको