काठमाडौँ । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।
निर्वाचन आसपासमा करिब एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरूले काठमाडौँ छोड्ने तयारी गरेका छन् । सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ ।
फागुन २३ गते शनिवार र २४ गते अर्थात् ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दसैँ तिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् ।
यातायात व्यवसायीहरुकाअनुसार अहिलेबाटै उपत्यका छाड्नेहरू बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताए । १९ गतेसम्मका लागि लामोदूरीका गाडीहरूमा भिडभाड रहेको उहाँको भनाइ छ । सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्भ समेत गर्न थालिसकेका छन् ।
सिटौलाले भने ‘६र७ दिनको बिदाका कारण काठमाडौँ उपत्यकाबाट निकै धेरै यात्रुहरू उपत्यकाबाट घरतर्फ जाने हामीले देखिरहेका छौँ । जानेक्रम सुरु भइसकेको छ । आम निर्वाचनको क्रमलाई लिएर सुरक्षा निकायहरू समेत आफ्नो कार्यक्षेत्रमा गइसकेको अवस्था पनि छ । करिब ८–९ लाखको हाराहारीमा आआफ्नो गृहजिल्लामा जाने क्रम सुरु भइसकेको छ । १९ गतेसम्म लामोदूरीका गाडीहरूमा अत्यन्तै भिडभाड छ । १७, १८,१९ गते थेगिनसक्नु बीड छ । धेरै सवारीसाधन रिजर्भ गर्न थालिसक्नुभएको छ ।’
यातायात व्यवसायी सिटौलाकाअनुसार लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पा जस्ता जिल्लामा १९ गतेपछि गाडी जानसक्ने अवस्था रहने छैन । मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोकसम्मका दूरीमा गाडीहरू चल्नेछन् ।
यातायात व्यवस्था विभागले पनि आम निर्वाचनको असापासमा धेरै बिदा परेकाले यात्रु बाहिर जाने भएकाले सार्वजनिक यातायातलाई चुस्त राखिने बताएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरुस्त राख्न योजनाबद्ध तवरले विभाग लागिरहेको बताए ।
विभागका महानिर्देशक पोखरेलले भने ‘आम निर्वाचन नजिकिएको छ । यो बेला यातायात प्रणालीलाई चुस्तदुरुस्त बनाउन विभिन्न कामहरू गरिरहेका छौँ । आसन्न चुनावमा देशबाट एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम सुरु भइरहेको छ र विदेशबाट पनि नेपाली नागरिकहरू नेपाल आउने क्रम बढिरहेको छ । अहिले यातायात प्रणालीलाई व्यवस्थित बनाउन विभिन्न स्टेक होल्डरहरूसँग बसेर छलफल गरेका छौँ । अहिले सार्वजनिक यातायातबाटै सबै नागरिकलाई आफ्नो गन्तव्य पुर्याउनसक्ने अवस्थामा छौँ । यदि पुगेन भने हामी अरू पूर्वतयारी पनि गरेर बसेका छौँ । सार्वजनिक यातायातले पुगेन भने अरू क्षेत्रका गाडीहरू समेत प्रयोग सक्ने छौँ ।’
उनले निर्बाध रूपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सवारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताए ।