काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनको प्रचारप्रसारलाई तीव्रता दिँदै आइतबार काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा चुनावी सभाको आयोजना गर्दैछ । मतदातालाई आकर्षित गर्न आयोजना गरिएका यी सभाहरूलाई पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसे लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका अनुसार दिउँसो १ बजे काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुरबाट चुनावी सभाको सुरुवात हुनेछ । उक्त सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । यस क्षेत्रमा कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई चुनावी मैदानमा उतारेको छ ।
दिउँसो २ बजे भक्तपुरको ठिमीमा आयोजना हुने सभामा उपसभापति शर्माले मन्तव्य राख्नेछन् । भक्तपुर क्षेत्र नम्बर २ बाट पत्रकार कबिर राणा कांग्रेसका उम्मेदवार हुन् । यसैगरी, काठमाडौं क्षेत्र नम्बर २ स्थित पेप्सीकोला टाउनप्लानिङको चुनावी सभालाई पनि उपसभापति शर्माले नै सम्बोधन गर्ने तय भएको छ । यहाँ कांग्रेसका तर्फबाट कबिर शर्मा प्रतिस्पर्धामा छन् ।
उता दिउँसो ३ बजे काठमाडौं-७ को बालाजुमा हुने कार्यक्रममा भने सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्दै भोट माग्नेछन् । यस क्षेत्रका कांग्रेस उम्मेदवार प्रमोदहरि गुरागाईं हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को हकमा भने दिउँसो साढे ३ बजे सभामुखी चोकमा संयुक्त रूपमा चुनावी सभा आयोजना गरिएको छ । उक्त संयुक्त सभालाई पनि सभापति थापा र प्रवक्ता चालिसेले नै सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौं-५ मा पार्टीका महामन्त्री प्रदीप पौडेल र ६ मा जिल्ला सभापति कृष्णसबुज बानिया उम्मेदवार रहेका छन् ।
दिउँसो ४ बजे काठमाडौं-४ को बालुवाखानीमा हुने सभालाई सभापति थापाले सम्बोधन गरेपछि आइतबारको चुनावी कार्यक्रम समापन हुनेछ । यस क्षेत्रमा कांग्रेसले सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ ।