२७ फाल्गुन २०८२, बुधबार
Follow Us

सरकारलाई ५ हजार नेपालीले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०८२, बुधबार १२:०२

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधवार मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी गराएको हो ।

ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एशियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ५ हजार बढी नागरिकले आफ्नो अवस्था असुरक्षित रहेको जानकारी गराएको उल्लेख गरे ।

यद्यपि पछिल्लो समयमा विवरण अद्यावधिक गर्दै केहीले आफू सुरक्षित रहेको जानकारी समेत गराइसकेको उनको भनाइ छ । असुरक्षित रहेका नागरिकहरूको सुरक्षाका लागि विदेशस्थित नियोगहरूसँग आवश्यक समन्वय भइरहेको समेत क्षेत्रीको भनाइ छ । बढ्दो तनावका कारण समस्यामा परेका नागरिकको सुरक्षाका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उनको भनाइ छ ।

उनले भने ‘५ हजार जनाले आफू असुरक्षित रहेको जानकारी गराउनुभएको छ । पछिल्लो समयमा भने असुरक्षित रहनेको संख्या कम हुँदै गएको छ । अहिले उहाँहरूले नै अपडेट गरेर सुरक्षित रहेको बताउनुभएको छ । ट्रान्जिटमा रहेका नेपाली नागरिकहरूले अझ बढी असुरक्षित रहेको जानकारी गराउनुभएको हो । उहाँहरूको सुरक्षा तथा उद्धारका लागि सरकार लागि परेको छ ।’

उनले मध्यपूर्वमा बढ्दो तनावको विषयमा अध्ययन गरी सरकारलाई सिफारिस गर्न गठित इमरजेन्सी रिस्पोन्स टिमले कार्यसम्पादन जारी राखेको जानकारी समेत गराए ।

धेरै पढिएको