२८ फाल्गुन २०८२, बिहीबार
Follow Us

नसच्याए अर्को पटक कम्युनिस्ट सकिन्छ : गोकुल बास्कोटा

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०८२, बिहीबार ०५:१४

काठमाडौं । एमाले नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र आगामी भविष्यलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले समयमै आत्मसमीक्षा र सुधार नगरे कम्युनिस्ट आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका हुन् ।

नेता बास्कोटाले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उदय र पतनको सन्दर्भ जोड्दै पाँच वर्षअघि नै आफूले यसको उत्कर्ष र पतन (क्लाईमेक्स र कोल्याप्स) को आँकलन गरेको स्मरण गरेका छन् । वामपन्थी शक्तिहरू एकीकृत हुँदा आम जनतामा अभूतपूर्व उत्साह र आशा पलाए पनि नेतृत्वको कार्यशैलीका कारण त्यो उत्साह टिक्न नसकेको उनको ठम्याइ छ ।

“पाँच वर्षअघि नै मैले भनेको थिएँ- यो नेकपाको उत्कर्ष र पतनको समय हो । वाम एकताले जनतामा उत्साह त ल्यायो, तर विचार, संगठन र व्यवहार केवल दुई नेताको अधीनमा रहँदा एकताको धरातल कमजोर बन्यो,” बास्कोटाले उल्लेख गरेका छन् ।

पार्टी सञ्चालनमा देखिएको सैद्धान्तिक विचलनप्रति कडा टिप्पणी गर्दै उनले तत्कालीन नेतृत्वले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका उतारचढावबाट शिक्षा लिन नसकेको बताएका छन् । सोभियत संघको विघटनको कारणबाट पाठ नसिक्नु र नेपाली माटो सुहाउँदो मौलिकताको सट्टा चिनियाँ मोडलको अन्धभक्त भएर ‘नक्कल’ गर्न खोज्नु नै नेकपा असफल हुनुको प्रमुख कारण रहेको उनले दाबी गरेका छन् । यसलाई उनले ‘सुपरफ्लप’ को संज्ञा दिएका छन् ।

कम्युनिस्ट आन्दोलन अहिले नै पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै नेता बास्कोटाले सुधारको अन्तिम अवसर अझै बाँकी रहेको संकेत गरेका छन् । यद्यपि, वर्तमान कार्यशैलीमा आमूल परिवर्तन नआए आगामी दिनहरू निकै कष्टकर हुने उनको चेतावनी छ । उनले भनेका छन्, ‘अहिले नै सबै सकिएको त छैन, तर नसच्याउने हो भने अर्को पटक चाहिँ पक्कै सकिन्छ ।’

धेरै पढिएको