९ चैत्र २०८२, सोमबार
Follow Us

दुर्घटनाको आवरणमा हत्या, प्रहरी अनुसन्धानपछि खुलासा

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०८२, सोमबार ०५:३९

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएको घटनामा हत्या भएको प्रहरीले पुष्टि गरेको छ।

शव परीक्षण प्रतिवेदन र प्रहरीको सूक्ष्म अनुसन्धानका आधारमा हत्या पुष्टि भएपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मदिरा सेवनपछि भएको विवादको कारण हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

घटना गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव विक घाँस काट्ने क्रममा घरदेखि करिब ९ किलोमिटर माथि गैयाभाट जंगलमा रुखबाट लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी हुँदै गण्डकी मेडिकल कलेज पोखरामा लगिएको थियो। चिकित्सकले “बाँच्ने सम्भावना कम” भनेपछि घर फर्काइएका विकको त्यसपछि मृत्यु भएको बुझिएको थियो।

अनुसन्धान टोलीले घटनाको प्रकृति अनुसार शव परीक्षण गराउन परिवारसँग परामर्श गरी “रुखबाट लडेर मृत्यु” शीर्षकमा जाहेरी दर्ता गरेको थियो।

पोष्टमार्टम र शव परीक्षण प्रतिवेदन र सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । पोष्टमार्टममा टाउकोमा चोट लागेको देखिएको थियो।

प्रारम्भिक अनुसन्धानपछि परिवारलाई चैत ३ गते कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गरिएको थियो। घटनाको समयमा मृतकका आफन्त सोहन विक, प्रकाश विक र सुभम् विकसँग झगडा र कुटपिट भएको खुल्न आएको छ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार, शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन्। उनले मदिरा सेवनपछि भएको विवादको कारण हत्याको रुप लिएको स्वीकारेका छन्। पारिवारिक सम्बन्धका कारण हत्याको घटना लुकाउने प्रयास गरिएको पनि बुझिएको छ।

ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतले सात दिनको म्याद थप गरी थप अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको छ।

धेरै पढिएको