९ चैत्र २०८२, सोमबार
Follow Us

ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सवमा नेपाली फिल्म ‘टेस्ट अफ वाटर’ छनोट

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०८२, सोमबार ०५:४३

रिसल्ला प्रोडक्सन, एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमाको सहकार्यमा निर्माण गरिएको नेपाली छोटो चलचित्र “टेस्ट अफ वाटर” जर्मनीमा आयोजना हुने प्रतिष्ठित ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सव (७२औँ संस्करण)मा आधिकारिक रूपमा छनोट भएको छ।

विश्वकै सबैभन्दा पुराना, प्रभावशाली र प्रतिष्ठित छोटो चलचित्र महोत्सव मध्य एक मानिने यस महोत्सवमा छनोट हुनु नेपाली चलचित्रका लागि ठुलो उपलब्धि मानिएको छ। विश्वभरका सशक्त र सृजनशील फिल्ममेकरहरूको उत्कृष्ट कृतिहरू प्रदर्शन हुने यस प्लेटफर्ममा नेपाली फिल्मको उपस्थिति हुनु गौरवको विषय बनेको छ।

उक्त फिल्म Children and Youth Competition – Official Selection अन्तर्गत छनोट भएको हो, जसले विभिन्न पुस्ता र संस्कृतिमा प्रभाव पार्ने कथाहरूलाई प्राथमिकता दिने गर्दछ।

यस उपलब्धिले नेपाली कथा, संस्कृति र सृजनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने महत्त्वपूर्ण अवसर प्रदान गरेको निर्माण टिमले जनाएको छ।

“टेस्ट अफ वाटर” का लेखक तथा निर्देशक आयन परियार हुन्।

फिल्मका निर्माता दीवस श्रेष्ठ, ज्योत्सल राजभण्डारी र प्रेम प्रसाद अधिकारी रहेका छन्। छायाङ्कन निर्देशक (DOP) शरद महतो, सहायक निर्देशक सुमित्रा कालिकोटे र प्रोडक्सन म्यानेजर आशिष कँडेल रहेका छन्।

कलाकारहरूमा अफन्ता बीके, अनुप डोटेल, सोनिका शाही ठकुरी, चन्द्र नेपाली र कमला पराजुलीको अभिनय रहेको छ।

धेरै पढिएको