१ बैशाख २०८३, मंगलवार
Follow Us

कतारमा एनआरएनए एकता: कृष्ण पन्थीको नेतृत्वमा नयाँ सहमति

नेपालब्रिटेन संवाददाता
१ बैशाख २०८३, मंगलवार ०५:०५

कतार — गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारमा लामो समयदेखि जारी आन्तरिक विवाद अन्त्य गर्दै अन्ततः एकता कायम भएको छ। आपसी समझदारी र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो।

सहमति अनुसार कृष्ण पन्थीले एनसीसीको नेतृत्व सम्हाल्ने भएका छन् भने पदम गिरीलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा मनोनयन गर्ने निर्णय गरिएको छ। संघका अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा सोमबार सो सहमति जुटेको हो।

त्यसैगरी, महासचिवमा शिव भुजेल चयन भएका छन् भने अर्का महासचिव विवेक पुलामी मगर उपाध्यक्ष पदमा रहने सहमति भएको छ। कोषाध्यक्षको जिम्मेवारी प्रेम बस्नेतले सम्हाल्नेछन् भने अर्का कोषाध्यक्ष कविन्द्र कण्डेल सचिव पदमा रहने भएका छन्।

अन्य पदहरू दुवै पक्षबाट यथावत राख्ने सहमति भएको जनाइएको छ। एकताको वातावरण निर्माण गर्न आ–आफ्नो पद त्याग गरी योगदान गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ।

सामाजिक सेवा तथा व्यवसायिक क्षेत्रमा सक्रिय कृष्ण पन्थी नेपाल थट्स कतारका सल्लाहकार सदस्यसमेत रहेका छन्। कतारमा भएको यस एकतालाई प्रवासी नेपाली समुदायमा सकारात्मक सन्देश दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यसअघि फ्रान्स, लक्सेम्बर्ग, माल्टा र डेनमार्कमा पनि एनआरएनए एकता कायम भइसकेको थियो।

धेरै पढिएको