काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा चार दिने आवासीय रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला शनिबारदेखि सुरु भएको छ।
बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा सुरु भएको उक्त कार्यशालामा मध्यपूर्वका विभिन्न देशहरू तथा मलेसिया (राष्ट्रिय समन्वय समिति) का पदाधिकारीहरूको सहभागिता रहेको छ।
कार्यशालाको मुख्य उद्देश्य एनआरएनए अन्तर्गतका राष्ट्रिय समन्वय समितिहरू (एनसीसी) तथा समग्र संस्थागत संरचनालाई अझ सुदृढ, सक्षम र प्रभावकारी बनाउनु रहेको संघले जनाएको छ। यस कार्यक्रममार्फत संस्थागत क्षमता विकास, नेतृत्व सुदृढीकरण तथा समन्वय प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरू तथा संघको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।