बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई अत्यन्त जरुरी सूचना जारी गरेको छ। राजदूतावासले कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण नगर्न तथा अर्को सूचना जारी नभएसम्म यात्रा स्थगित गर्न आग्रह गरेको हो।
रूस–युक्रेन तनावका कारण उत्पन्न असुरक्षित परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई यथाशीघ्र सुरक्षित रूपमा नेपाल फर्कन समेत अनुरोध गरेको छ।
राजदूतावासका अनुसार युक्रेनमा रहेका नेपालीहरूले कुनै समस्या वा सहयोग आवश्यक परेमा बर्लिनस्थित दूतावासमा सम्पर्क गर्न सक्नेछन्। यसका लागि प्रथम सचिव रञ्जन यादवको मोबाइल नम्बर सार्वजनिक गरिएको छ, जहाँ WhatsApp मार्फत समेत सम्पर्क गर्न सकिने जनाइएको छ।
दूतावासले परिस्थितिको निरन्तर निगरानी गरिरहेको जनाउँदै आवश्यक परे थप सूचना जारी गरिने उल्लेख गरेको छ।
