५ जेष्ठ २०८३, मंगलवार
Follow Us

नेपाल प्रहरीको नयाँ रणनीतिक योजना सार्वजनिक

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ११:५५

काठमाडौँ । नेपाल प्रहरीले आगामी तीन वर्षलाई लक्षित गर्दै “नेपाल प्रहरी रणनीतिक योजना २०८३-२०८५” सार्वजनिक गरेको छ । नागरिकमैत्री, प्रविधिमा आधारित तथा उत्तरदायी प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर योजना अघि सारिएको हो ।

बदलिँदो अपराध प्रवृत्ति, प्रविधिको तीव्र विस्तार र नागरिक अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको उक्त योजनालाई संगठनात्मक रूपान्तरणको दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ ।

रणनीतिक योजना सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत प्रहरी सेवाबाट आधुनिक, वैज्ञानिक र प्रविधिमैत्री संरचनातर्फ संगठनलाई रूपान्तरण गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार अबको प्रहरी सेवा विश्लेषणात्मक सोच, तथ्यमा आधारित निर्णय प्रणाली तथा डिजिटल प्रविधिको प्रयोगमा केन्द्रित हुनेछ ।

महानिरीक्षक कार्कीले संगठनको वर्तमान अवस्था, चुनौती, अवसर तथा कमजोरी पहिचान गर्न ‘स्वोट’ विश्लेषण गरिएको जानकारी दिँदै योजना निर्माणअघि कानुनविद्, सुरक्षाविज्ञ, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा अन्य सरोकारवालासँग छलफल गरिएको बताए । नागरिक सुझावलाई समेटेर प्रहरी सेवालाई थप पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्य रहेको उनको भनाइ थियो ।

रणनीतिक योजनामा साइबर अपराध अनुसन्धान, डिजिटल फरेन्सिक, आर्थिक अपराध नियन्त्रण तथा संगठित अपराध अनुसन्धानलाई उच्च प्राथमिकतामा राखिएको छ । सम्पत्ति शुद्धीकरण, अन्तरदेशीय अपराध र वित्तीय अपराध नियन्त्रणका लागि अनुसन्धान क्षमता र प्राविधिक दक्षता विस्तार गर्ने योजना पनि समावेश गरिएको छ ।

प्रहरी नेतृत्वले परम्परागत अनुसन्धान प्रणालीबाट आधुनिक र प्रविधिमा आधारित अपराध नियन्त्रण सम्भव नहुने निष्कर्षसहित कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल फरेन्सिक उपकरण तथा आधुनिक अनुसन्धान प्रणालीको प्रयोग विस्तार गरिने जनाएको छ । साथै प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि र विशेष तालिमलाई पनि प्राथमिकतामा राखिएको छ ।

योजनाअनुसार नागरिकका गुनासा, उजुरी र सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत दर्ता, अनुगमन तथा समाधान गर्ने व्यवस्था विस्तार गरिनेछ । सेवा प्रणालीलाई छरितो, सहज र पारदर्शी बनाउन एकीकृत डिजिटल प्लेटफर्म विकास गर्ने लक्ष्य राखिएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य संवेदनशील समूहलाई लक्षित विशेष सेवा प्रणाली विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ । घरेलु तथा लैङ्गिक हिंसाका पीडितका लागि पहुँचयोग्य सेवा विस्तार, महिला प्रहरी परिचालन वृद्धि तथा समुदायमा आधारित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने रणनीतिअन्तर्गत अपराध रोकथाममा समुदायको सहभागिता बढाउने, ‘हटस्पट’ आधारित प्रहरी परिचालन तथा वैज्ञानिक अपराध विश्लेषण प्रणाली लागू गर्ने योजना समेटिएको छ ।

प्रहरीले नीति तथा योजना, शान्ति सुरक्षा, अपराध अनुसन्धान, मानव स्रोत विकास, पूर्वाधार र सूचना प्रविधिसहित सात प्रमुख क्षेत्रलाई केन्द्रमा राखेर संरचनागत सुधार, दक्ष जनशक्ति विकास र प्रविधि विस्तार गर्ने लक्ष्य निर्धारण गरेको जनाएको छ ।

महानिरीक्षक कार्कीले योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न पर्याप्त बजेट, सरकारी सहयोग, नीतिगत निरन्तरता तथा प्रविधिमा लगानी आवश्यक पर्ने बताए । आगामी आर्थिक वर्षदेखि योजनालाई चरणबद्ध रूपमा लागू गरिने र यसको प्रगति मासिक, त्रैमासिक तथा वार्षिक समीक्षा प्रणालीमार्फत मूल्यांकन गरिने जानकारी पनि उनले दिए ।

कार्यक्रममा नायब महानिरीक्षक अविनारायण काफ्ले र राजेन्द्रप्रसाद भट्टले योजनाका उद्देश्य, कार्यान्वयन रणनीति तथा चुनौतीबारे प्रस्तुति दिएका थिए । प्रस्तुतीकरणमा प्रविधिमा आधारित अपराध र बदलिँदो सुरक्षा चुनौतीलाई सम्बोधन गर्न संगठनात्मक सुधार अपरिहार्य रहेको उल्लेख गरिएको थियो ।

नेपाल प्रहरीले “नवप्रवर्तन, इमानदारी र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण” भन्ने नारासहित उक्त रणनीतिक योजना कार्यान्वयन गर्ने जनाएको छ ।

धेरै पढिएको