अल्डरशट (यूके), आइतवार — २४ औँ संस्करणको प्रतिष्ठित गोर्खा कप २०२६ को उपाधि नेपाल राङ्भाङ एफसीले जितेको छ। अल्डरशटस्थित क्वीन्स एभिन्यू आर्मी मैदानमा सम्पन्न फाइनल खेलमा राङ्भाङ एफसीले गुरुजी इलियट टिमलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। प्रतियोगिता तमुधिं यूकेद्वारा आयोजना गरिएको थियो।
उपाधिसँगै विजेता राङ्भाङ एफसीले ३,५०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता गुरुजी इलियट टिमले २,००० पाउण्डसहित ट्रफी र प्रमाणपत्र हात पार्यो।
जम्मा ५६ टिमको सहभागिता रहेको प्रतियोगितामा भेट्रानतर्फ इन्टेक ०४ विजयी बन्यो। निर्धारित समय २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत इन्टेक ०४ ले पलमस्टेड एफसीलाई पराजित गर्दै उपाधि जितेको हो। विजेता टोलीले १,८०० पाउण्ड तथा उपविजेता पलमस्टेड एफसीले १,२०० पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
महिलातर्फ तामाङ समाज यूकेले उत्कृष्ट प्रदर्शन गर्दै रनर बोल्टलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जित्यो। विजेता टोलीले ६०० पाउण्ड तथा उपविजेताले ४०० पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
कार्यक्रममा रसमर बरो काउन्सिलका मेयर कालम स्टिवार्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सीना,एनआरएनए यूकेको प्रमुख संरक्षक चिरन्जीबी ढकाल, स्थानीय सांसद एलेस बेकर, ब्रिगेडियर जनरल अनुप शाह, कर्नेल रबिन्सनलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक समारोहमा वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव डा. विशाल गुरुङले गरेका थिए।




