२६ असार २०८३, शुक्रबार
Follow Us

७९औँ विश्व स्वास्थ्य सभामा सफल सहभागिता पश्चात् स्वास्थ्य मन्त्री निशा मेहता स्वदेश फिर्ता

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०८३, बुधबार ०४:४०

काठमाडौँ – नेपाल सरकारकी माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभामा सफल सहभागिता जनाई तथा सम्बोधन सम्पन्न गरी आज स्वदेश फर्किनुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनका क्रममा मन्त्री मेहतालाई मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए। मे १८ देखि २३, २०२६ सम्म आयोजित यस वर्षको विश्व स्वास्थ्य सभा नेपालका लागि ऐतिहासिक तथा उपलब्धिमूलक बनेको मन्त्रालयले जनाएको छ।

उक्त सभामा मन्त्री मेहता सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो, जुन नेपालको स्वास्थ्य कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो उपस्थिति तथा विश्वसनीयताको महत्वपूर्ण संकेतका रूपमा लिइएको छ। महासभामा सम्बोधन गर्दै उहाँले नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकता, महामारीको पूर्वतयारी तथा विश्वव्यापी स्वास्थ्य सेवामा समान पहुँच सम्बन्धी स्पष्ट धारणा प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी, मन्त्री मेहताले जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय तथा विकासशील देशहरूमा परेको गम्भीर जनस्वास्थ्य प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको थियो। भ्रमणका क्रममा उहाँले विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरू तथा विभिन्न सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्दै नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, प्राविधिक सहयोग आदानप्रदान तथा सहकार्य विस्तारका विषयमा महत्वपूर्ण संवाद गर्नुभएको थियो।

नयाँ सरकार गठनपछि मन्त्री मेहताको यो पहिलो उच्चस्तरीय अन्तर्राष्ट्रिय सहभागिता हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेको छ। मन्त्री मेहताले विश्व स्वास्थ्य सभामा पारित भएका नीतिहरू तथा नेपालले गरेका प्रतिबद्धताहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिसँग समन्वय गरी प्रभावकारी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

धेरै पढिएको