१० असार २०८३, बुधबार
Follow Us

दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्नु दुःखदः हिक्मत थापा

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०८३, शनिबार १६:३२

लण्डन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने घोषणा गरेपछि उक्त निर्णयको चौतर्फी आलोचना सुरु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष हिक्मत थापाले सरकारको यो निर्णयप्रति दुःख व्यक्त गर्दै यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले बजेट मन्तव्य मार्फत यस्तो निर्णय सार्वजनिक हुनु दुःखद भएको बताए ।

थापाका अनुसार ती दूतावासहरूलाई दक्षिण–दक्षिण व्यापार, लगानी र आर्थिक अवसर सिर्जनाको आधारका रूपमा विकास गर्न सकिने सम्भावना थियो । “दूतावास केवल खर्च केन्द्र मात्र होइन, आयको अवसरका रूपमा पनि विकास गर्न सकिन्छ,” उनले भने, “अबको समयमा दूतावासहरूले आर्थिक कूटनीतिमा बढी केन्द्रित हुनुपर्छ।”

उनले दक्षिण अफ्रिका र ब्राजिल दुवै देश द्रुत गतिमा आर्थिक समृद्धि हासिल गरिरहेका र भविष्यका प्रमुख आर्थिक केन्द्रका रूपमा उदाइरहेका उल्लेख गरे । यी देशहरू क्रमशः अफ्रिका र दक्षिण अमेरिका महादेशका महत्वपूर्ण आर्थिक केन्द्र पनि भएको उनले बताए ।

थापाले ती क्षेत्रमा नेपाली डायस्पोरा पनि बढ्दो क्रममा रहेको र क्रमशः स्थापित हुँदै गएको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीहरूको समस्या अझै पनि नेपाल सरकारको पहुँच बाहिर रहेको बताए । “गैरआवासीय नेपालीहरूले राज्यको उपस्थिति अझ धेरै आवश्यक रहेको महसुस गरेका छन् र त्यसको माग गर्दै आएका छन्,” उनले भने, “यस्तो अवस्थामा रहेका दूतावासहरू पनि बन्द हुनु झनै दुःखद हो।”

उनले सरकारलाई ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासहरूलाई दक्षिण–दक्षिण सम्बन्ध सुदृढ गर्ने, नयाँ विश्वशक्तिका रूपमा स्थापित हुँदै गइरहेका मुलुकहरूसँग सहकार्य बढाउने, दोहोरो व्यापार, प्रविधि र लगानीका सम्भावनाहरूलाई उपयोग गर्ने दिशामा केन्द्रित गर्न सुझाव दिए ।

अन्त्यमा उनले नेपाल सरकारसँग उक्त निर्णय पुनः विचार गर्न आग्रह गर्दै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

धेरै पढिएको