१८ जेष्ठ २०८३, सोमबार
Follow Us

एनआरएनएले बोलायो दुई दिने केन्द्रीय समितिको बैठक, प्रत्यक्ष प्रसारण हुने

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०८३, सोमबार ०८:३८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले दुई दिने केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। संघका महासचिव डा. चिरञ्जीवी खड्काका अनुसार बैठक आगामी जुन १३ र १४ तारिख भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।

जुन १३ मा हुने बैठकको सम्पूर्ण कार्यक्रम एनआरएनएको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। साथै, दोस्रो दिन जुन १४ मा हुने बैठकका केही सत्रहरू पनि प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ।

बैठकमा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको एकता, सदस्यता शुल्क संकलन, पदाधिकारी मनोनयन लगायतका विषयमा छलफल तथा निर्णय गरिनेछ।

बैठकले उम्मेदवारी शुल्क नतिरेका आईसीसी पदाधिकारीहरूको नाम एनआरएनएको वेबसाइटबाट हटाउने निर्णय गर्न सक्ने जनाइएको छ।

त्यसैगरी, एनआरएनए विधानअनुसार सदस्यता शुल्क नतिरेका तथा सन्तोषजनक स्पष्टीकरण दिन असफल एनसीसीहरूको आईसीसीसँगको आवद्धता निलम्बन गर्ने विषयमा पनि निर्णय गरिनेछ।

बैठकमा कतार, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, माल्टा, मलेसिया, थाइल्याण्ड र डेनमार्कस्थित एनसीसीहरूको एकीकरण सम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ। तर, ती सबैले ११५ औं आईसीसी बैठकअघि बक्यौता सदस्यता शुल्क भुक्तानी गर्नुपर्ने पूर्वशर्त राखिएको छ।

यसका साथै, अस्ट्रिया, पोर्चुगल, अमेरिका, यूएई, कुवेत र दक्षिण कोरियामा अझै एकीकरण प्रक्रिया अपूर्ण रहेका एनसीसीहरूबारे थप छलफल गर्ने तयारी गरिएको छ।

रोमानिया, बुल्गेरिया, स्लोभाकिया, ग्रीस र फिनल्याण्डमा निष्क्रिय रहेका एनसीसीहरूलाई पुनः सक्रिय बनाउने अधिकार सम्बन्धित क्षेत्रीय संयोजक तथा केन्द्रीय पदाधिकारीहरूलाई प्रदान गरिनेछ। साथै, क्रोएसिया, सर्बिया, लाओस र भियतनाम लगायत नयाँ देशहरूमा एनसीसी स्थापना प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल हुने भएको छ।

बैठकमा एनआरएनएका सबै विभागीय प्रमुखहरूले आफ्नो-आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्।

१२ औं महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित अध्यक्ष डा. हेमराज शर्माले पहिलो पटक दुई दिवसीय बैठक बोलाएपछि संघको संगठन सुदृढीकरण, आर्थिक अनुशासन कायम गर्ने तथा विश्वभर रहेका एनसीसीहरूको प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने दिशामा यसलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

धेरै पढिएको