लन्डनको नर्थोल्टस्थित स्लिप रोड (टार्गेट राउन्डअबाउट नजिक) मा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यू हुने ४० वर्षिया नेपाली नागरिक रहेको बताइएको छ ।
स्थानीय समयअनुसार साँझ ४. ५७ बजे एक पैदलयात्रीलाई कारले ठक्कर दिएको खबर प्राप्त भएपछि प्रहरी, लन्डन एम्बुलेन्स सेवा तथा लन्डन एयर एम्बुलेन्स घटनास्थलमा पुगेका थिए। चिकित्सकहरूको प्रयासका बाबजुद करिब ४० वर्ष उमेरका ती व्यक्तिलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो।
मृतकका परिवारलाई जानकारी दिइसकिएको छ र उनीहरूलाई विशेष प्रहरी टोलीद्वारा सहयोग प्रदान गरिँदैछ।
घटनामा संलग्न भएको आशंकामा निलो रंगको बिएमडब्लु चलाइरहेका २० वर्षीय एक युवकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। उनलाई खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको तथा बीमा बिना सवारी चलाएको आरोपमा हिरासतमा राखिएको छ।
मेट्रोपोलिटन प्रहरीको सिरीयस कोलिजन इन्भेस्टिगेशन युनिटका अनुसन्धानकर्ताहरूले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक अनुमानअनुसार दुर्घटना साँझ करिब ४.३० बजे भएको हुन सक्ने बताइएको छ।
डिटेक्टिभ इन्स्पेक्टर फियाज जन्जुआले भने, “यो दुःखद घटनाका पीडितका परिवार तथा आफन्तप्रति हाम्रो समवेदना छ। घटनाको पूर्ण विवरण बुझ्न हामी प्रयासरत छौँ र प्रत्यक्षदर्शी वा सम्बन्धित जानकारी भएका व्यक्तिहरू—विशेष गरी सिसिटिभी वा ड्यासक्याम फुटेज भएका—लाई अगाडि आउन अनुरोध गर्दछौँ।”