८ असार २०८३, सोमबार
Follow Us

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपालब्रिटेन संवाददाता
८ असार २०८३, सोमबार ०६:०९

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने अवधि आज सकिँदैछ। कम्पनीले असार ३ गतेदेखि खुला गरेको आईपीओमा इच्छुक लगानीकर्ताले बैंक तथा ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) सार्वजनिक निष्कासनमा ल्याएको थियो।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ। सो सेयर बाँडफाँडपछि बाँकी रहेको सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरिएको हो।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार योग्य लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

त्यसैगरी, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेडले सम्हालेको छ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी’ इस्युयर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले निर्धारित समयभित्र आवेदन दिनुपर्नेछ।

धेरै पढिएको