पोखरा । गण्डकी प्रदेशमा आयोजित पार्टीको सुझाव संकलन कार्यक्रममा डा. सूर्य प्रसाद पाठकले पार्टीको वर्तमान नाम, कार्यदिशा र राजनीतिक पहिचानबारे गम्भीर समीक्षा गर्दै पार्टीको नाम परिवर्तन गर्ने विषयमा खुला तथा व्यापक बहस सुरु गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ।
कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै डा. पाठकले नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक परिवेशमा आएको परिवर्तनसँगै राजनीतिक दलहरूले पनि आफूलाई समयअनुकूल ढंगले रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले जनताको अपेक्षा, नयाँ पुस्ताको सोच तथा बदलिँदो सन्दर्भलाई ध्यानमा राख्दै पार्टीले आफ्नो वैचारिक प्रस्तुति र सार्वजनिक छविबारे पुनर्विचार गर्नुपर्ने बताउनुभयो।
डा. पाठकले पार्टीको नाम परिवर्तनको विषय केवल औपचारिक वा प्राविधिक प्रश्न नभई पार्टीको भविष्य, जनतासँगको सम्बन्ध र राजनीतिक सान्दर्भिकतासँग जोडिएको विषय भएको धारणा राख्नुभयो। उहाँका अनुसार कुनै पनि राजनीतिक संगठनको शक्ति केवल उसको इतिहास वा परम्परामा सीमित हुँदैन, बरु वर्तमान समाजसँगको सम्बन्ध, जनविश्वास र भविष्यप्रतिको दृष्टिकोणले निर्धारण गर्छ।
उहाँले विगतका राजनीतिक अभ्यासका क्रममा भएका कमजोरी, त्रुटि र कमीकमजोरीलाई इमान्दारीपूर्वक स्वीकार गर्न सक्नुपर्नेमा विशेष जोड दिनुभयो। “गल्ती स्वीकार गर्न सक्ने साहस नै सुधारको पहिलो आधार हो,” उहाँले भन्नुभयो, “जनताले राजनीतिक दलबाट इमानदारी र आत्मसमीक्षाको संस्कृतिको अपेक्षा गरेका छन।
उहाँका अनुसार वर्तमान समयमा युवापुस्ताको राजनीतिक सहभागिता, बदलिँदो सामाजिक चेतना र नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने हो भने कुनै पनि राजनीतिक आन्दोलन दीर्घकालीन रूपमा सान्दर्भिक रहन सक्दैन। त्यसैले पार्टीले आफ्नो संरचना, कार्यशैली र सार्वजनिक पहिचानबारे खुला बहस गर्नुपर्ने समय आएको उहाँको भनाइ थियो।
सुझाव संकलन कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पनि संगठनात्मक सुधार, जनविश्वास पुनर्निर्माण, नेतृत्व विकास तथा पार्टीको भावी दिशाबारे विभिन्न धारणा प्रस्तुत गरेका थिए।