काठमाडौँ । नेपाली, नेपालभाषा र मैथिली भाषाका डेढ दर्जनभन्दा बढी स्रष्टाहरूका आफ्नै स्वरमा वाचन गरिएका रचनाका अंश अमेरिकाको राजधानी वासिङ्टन डी.सी.स्थित विश्वकै सबैभन्दा ठूलो पुस्तकालय लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी डिजिटल अभिलेखमा समावेश भएका छन्।
दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजना (एसएएलआरपी) अन्तर्गत सङ्कलित यी ध्वनि सामग्री एक वर्ष लामो पुनर्संरचना तथा डिजिटल रूपान्तरणपछि विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि अनलाइनमार्फत उपलब्ध गराइएको लाइब्रेरी अफ कङ्ग्रेसले जनाएको छ। यससँगै नेपाली भाषिक संसारका स्रष्टाहरूका स्वर अन्तर्राष्ट्रिय साहित्यिक सम्पदाको साझा अभिलेखमा सुरक्षित भएका छन्।
लाइब्रेरी अफ कङ्ग्रेसले सन् २००४ मै माधव घिमिरे, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, बानीरा गिरि, भुवन ढुङ्गाना र दिनेश अधिकारीका आफ्नै स्वरमा वाचन गरिएका रचनाहरू सङ्कलन गरेको थियो। हाल सम्पन्न परियोजनाले त्यसलाई विस्तार गर्दै समकालीन पुस्ताका स्रष्टाहरूका स्वरलाई पनि विश्व साहित्यिक अभिलेखमा समेटेको हो।
नयाँ सङ्ग्रहमा अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, धीरेन्द्र प्रेमर्षि, नारायण ढकाल, प्रतिसरा सायमी, भुवनहरि सिग्देल, मनु मञ्जिल, माया ठकुरी, मोमिला, राजेन्द्र विमल, शारदा शर्मा, श्रवण मुकारुङ, सरुभक्त र ज्ञानुवाकर पौडेललगायत साहित्यकारका आफ्नै स्वरमा वाचन गरिएका रचनाका अंश समावेश छन्।
यी अभिलेखले सिर्जनालाई मात्र नभई स्रष्टाहरूको उच्चारण, लय, भावप्रवाह र भाषिक संस्कृतिलाई समेत भावी पुस्ताका लागि सुरक्षित गरेको साहित्यकार कृसु क्षेत्रीले भनेका छन्।
बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलङ्काका २० भाषामा सिर्जना गर्ने एक सयभन्दा बढी लेखकको सहभागिता रहेको एसएएलआरपी दक्षिण एसियाली साहित्यिक ध्वनि सम्पदाको महत्त्वपूर्ण परियोजनाका रूपमा परिचित छ। उपन्यास, कथा, नाटक, कविता र निबन्धलगायत विविध विधाका रचनालाई समेट्ने यस परियोजनाले क्षेत्रीय भाषा, शैली र विषयगत विविधतालाई एकै स्थानमा अभिलेखित गरेको छ।
सन् २००२ मा सुरु गरिएको एसएएलआरपीअन्तर्गत ध्वनि अभिलेखसँगै लेखकहरूको तस्बिर र संक्षिप्त जीवनी पनि उपलब्ध छन्। यी सामग्री साउथ एसियन डिजिटल कलेक्सनमार्फत अध्ययन, अनुसन्धान तथा सन्दर्भका लागि विश्वभर खुला गरिएको छ।
यस नयाँ डिजिटल प्रस्तुतीकरणले नेपाली, नेपालभाषा र मैथिली साहित्यका सशक्त स्वरलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्त्वपूर्ण माध्यम बनेको साहित्यकार क्षेत्रीले भनेका छन्। उनका अनुसार एसएएलआरपी ध्वनि अभिलेखको सङ्ग्रह मात्र नभई दक्षिण एसियाली साहित्यिक चेतना, सांस्कृतिक स्मृति र सिर्जनात्मक उत्तराधिकारलाई भावी पुस्तासम्म सुरक्षित राख्ने महत्वपूर्ण दस्तावेज पनि हो।
इलेक्ट्रोनिक मिडियाअन्तर्गत टेलिभिजन सात वटा, एफएम रेडियो कूल दर्ता भएका १२९ वटामध्ये ८५ वटा सञ्चालनमा रहेको काजीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा दर्ता रहेको एउटै मात्र एफएम रेडियो आठराई हो । प्रदेशमा अनलाइन सञ्चारमाध्यम ३९७ वटा रहेका छन् ।