१३ श्रावण २०८३, बुधबार
Follow Us

देवानगञ्ज तनाव : संवादबाट समाधान खोज्दै प्रशासन, कर्फ्यू यथावत्

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०८३, बुधबार ०५:५२

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयले वार्ता र संवादलाई केन्द्रमा राखेर पहल अघि बढाएको छ।

प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव पुनः स्थापित गर्न दुवै समुदायका प्रतिनिधिसँग छलफलको प्रक्रिया सुरु गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दुवै पक्षका अगुवा, जनप्रतिनिधि तथा धार्मिक नेतासँग चरणबद्ध छलफल गरी दीर्घकालीन समाधान निकाल्ने प्रयास भइरहेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सुरक्षा अवस्था नियन्त्रणमा रहे पनि पूर्ण रूपमा सहज वातावरण नबनेकाले बुधबार दिनभर कर्फ्यु कायमै राखिएको जानकारी दिए। उनका अनुसार स्थानीयवासीले सुरक्षित महसुस गर्ने वातावरण नबन्दासम्म सुरक्षा सतर्कता कायम रहनेछ।

अर्यालले विवाद समाधानका लागि बल प्रयोगभन्दा आपसी संवादलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको बताए। उनले समुदायबीच विश्वास पुनः स्थापित गर्न प्रशासनले निरन्तर समन्वय गरिरहेको र सबै पक्षलाई संयमित भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

घटनापछि जिल्लाको प्रशासनिक सेवा र दैनिक जनजीवनसमेत प्रभावित भएको उल्लेख गर्दै उनले स्थिति सामान्य भएसँगै सबै सेवा नियमित रूपमा सञ्चालन गरिने बताए।

आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि देवानगञ्जसहित आसपासका क्षेत्रमा तनाव फैलिएको थियो। त्यसको विरोधमा मंगलबार विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका थिए।

हाल प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सुरक्षा परिचालन जारी छ। प्रशासनले अफवाह फैलाउने गतिविधिबाट टाढा रहन, सामाजिक सञ्जालमा अपुष्ट सूचना साझा नगर्न र शान्ति कायम गर्न सबै पक्षसँग अपिल गरेको छ।

धेरै पढिएको