२० श्रावण २०८३, बुधबार
Follow Us

विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई विभागको जरिवाना

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८३, बुधबार ०८:४७

काठमाडौँ । वैदेशिक रोजगार विभागले आफ्नो पूर्वस्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको अभियोगमा थप ३९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारवाही गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार ती संस्थालाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको हो।

ऐनको दफा २२ ले श्रमिकलाई स्वदेशी विमानस्थलमार्फत मात्र वैदेशिक रोजगारीमा पठाउनुपर्ने व्यवस्था गरेको छ। उक्त कानुनी प्रावधानको कार्यान्वयन अवस्था मूल्याङ्कन गर्न विभागले २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति प्राप्त गरी विदेश गएका श्रमिकहरूको उडानसम्बन्धी विवरण माग गरेको थियो।

अनुगमनका क्रममा माग गरिएको विवरण उपलब्ध नगराउने वा विभागको स्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गरेको पाइएका गरी हालसम्म कुल ५९८ वटा म्यानपावर कम्पनी कारबाहीको दायरामा परिसकेको विभागले जनाएको छ।

विभागका अनुसार यसअघि विवरण बुझाउन निर्देशन दिइएका केही संस्थाले पछि विवरण पेस गरे पनि त्यसबाट विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पुष्टि भएपछि थप ३९ संस्थामाथि जरिबाना गरिएको हो। विभागले यसलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ अनुसार कसुर दोहोरिएको अवस्था मानेर कारबाही अघि बढाएको जनाएको छ।

यस्तै, पटक-पटक निर्देशन दिँदासमेत आवश्यक विवरण उपलब्ध नगराएका १२४ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई पनि ५० हजार रुपैयाँ जरिबाना किन नगर्ने भन्ने विषयमा सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

धेरै पढिएको