काठमाडौं । सरकारले विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विज्ञ यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई बोर्डको नयाँ सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
ओलाङचुङगोला पुख्र्यौली घर भएकी उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा लामो अनुभव भएकी विज्ञ हुन् । उनले अमेरिकाको मिजोरी विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि लगानी बोर्डमा आबद्ध भएर करिब ६ वर्ष प्रोजेक्ट फाइनान्सिङको जिम्मेवारी सम्हालेकी थिइन् ।
त्यसपछि उनी सार्वजनिक नीतिमा उच्च अध्ययनका लागि बेलायतको अक्सफोर्ड विश्वविद्यालय गइन् । अक्सफोर्डबाट स्नातकोत्तर पूरा गरेपछि उनी राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा आबद्ध भइन् । वरिष्ठ सल्लाहकारका रूपमा उनले फिजी, कम्बोडियालगायत विभिन्न मुलुकमा सार्वजनिक नीति र विकाससम्बन्धी परियोजनामा काम गरेकी छन् ।
अध्ययन र पेशागत जिम्मेवारीका क्रममा उनले लामो समय अमेरिकासमेत बिताएकी छन् ।
लगानी बोर्डको सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले यांकी उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । तीमध्येबाट मन्त्रिपरिषद्ले उक्याबलाई चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य थिए । समितिले जेठ २९ गते आवेदन आह्वान गरेको थियो भने आवेदन दिने म्याद असार १८ गतेसम्म थपिएको थियो । आवेदन दिएका आठ जनामध्ये छोटो सूचीमा परेकाहरूको साउन ७ र ८ गते प्रस्तुति तथा अन्तर्वार्ता लिइएको थियो ।
कानुनअनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्षको हुन्छ । बोर्डको अध्यक्ष प्रधानमन्त्री, उपाध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ भने प्रमुख कार्यकारी अधिकृत सदस्य–सचिवका रूपमा रहने प्रावधान छ । यसअघि राधेश पन्त, महाप्रसाद अधिकारी, सुशील भट्ट र सुशील ज्ञवालीले बोर्डको सिइओको जिम्मेवारी सम्हालिसकेका छन् ।