२१ श्रावण २०८३, बिहीबार
Follow Us

पर्वतारोही निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा हुने

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०८३, बिहीबार ०४:३१

पाकिस्तानको ब्रड पिकमा भएको हिमपहिरोमा परी निधन भएका विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतमा हुने भएको छ।

गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी निधन भएका पुर्जा १० सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहनुभएको थियो। उहाँको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि उतै गरिने भएको हो।

स्वर्गीय पुर्जाको शव साउन १७ गते पहिचान भए पनि मौसम प्रतिकूल हुनुका साथै अन्य आरोहीको शवभन्दा निकै अप्ठ्यारो स्थानमा रहेकाले बुधबार दिउँसो मात्रै बेसक्याम्पमा ल्याइएको थियो।

बेलायतमा रहनुभएका पुर्जाका दाजु कमलबहादुर पुर्जाले धार्मिक परम्पराअनुसार लन्डनमा अन्त्येष्टि गरिएपछि जन्मभूमि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना तथा बाल्यकाल बिताएको चितवनमा समेत उहाँको सम्झनामा काम गरिने बताउनुभयो।

“भाइको सम्झनामा विश्व स्तब्ध छ। हामीले बुहारी र छोरीलाई सहज हुने गरी अन्त्येष्टिको व्यवस्था गर्नुपर्ने अवस्था छ। अन्त्येष्टिको मिति तय गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ,” उहाँले भन्नुभयो।

स्वर्गीय पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले बुधबार जारी गरेको विज्ञप्तिमा ‘निम्स’ पुर्जा, निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव अत्यन्त चुनौतीपूर्ण उद्धार अभियानपछि ब्रड पिकबाट निकालेर सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको उल्लेख छ। ती शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्‍याइने जनाइएको छ।

लन्डनमा पनि अन्तिम विदाईका लागि आवश्यक कानुनी प्रक्रियासहितका कार्य पूरा गर्न केही समय लाग्ने बताइएको छ। हिमपहिरोमा ज्यान गुमाएका आरोहीको शव संकलनमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास र अल्पाइन क्लब अफ पाकिस्तानले सहयोग गरेका थिए।

सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमार्फत ब्रिटिस सेनामा छनोट हुनुभएका पुर्जाले संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिम लिनुभएको थियो। उहाँले क्विन्स गोर्खा इन्जिनियर्सको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ एन्ड डेकोरेसन ट्रेडमा कार्य गर्नुभएको थियो।

बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञका रूपमा कार्यरत पुर्जाले ‘गोर्खा एक्सपिडिसन २०१७’ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सगरमाथा आरोहणको नेतृत्व गर्नुभएको थियो।

सगरमाथा आरोहणका क्रममा ज्यान जोखिममा परेका अर्का आरोहीको उद्धार गर्न सफल पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबीई अवार्ड प्राप्त गर्ने पहिलो नेपालीको रूपमा समेत पहिचान बनाउनुभएको थियो।

पुर्जाले अतिरिक्त अक्सिजन प्रयोग नगरी आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको थियो। पाकिस्तानको केटु हिमालमा समेत दुर्लभ कीर्तिमान कायम गर्नुभएका पुर्जाको नाममा १८ वटा गिनिज वर्ल्ड रेकर्ड रहेका छन्।

धेरै पढिएको