लन्डन । बेलायतको दक्षिण वेल्स क्षेत्रमा फैलिएको भीषण डढेलो नियन्त्रणका लागि गोर्खा सैनिक परिचालन गरिएको छ। आगलागीका कारण अग्निनियन्त्रकहरूले अत्यधिक गर्मीबीच लामो समय काम गरिरहेका बेला करिब २०० जना सैनिक वेल्स पुगेका हुन्।
शुक्रबार वेल्स पुगेका सैनिकमध्ये अधिकांश क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्टका रहेका छन्। उनीहरूसँग २२ इन्जिनियर रेजिमेन्टका सैनिक पनि सहभागी छन्।
दक्षिण वेल्स फायर एन्ड रेस्क्यु सर्भिसले सैन्य सहयोग मागेपछि बेलायती सेनालाई परिचालन गरिएको हो। यस्तो सहयोगका लागि प्रयोग हुने Military Aid to the Civil Authorities (MACA) संयन्त्र सामान्यतया बाढी वा अन्य ठूला प्राकृतिक विपत्तिका समयमा बढी प्रयोग हुने गर्छ।
सेनाका जवानहरूले जंगल तथा दुर्गम क्षेत्रमा आगो फैलिन नदिन फायरब्रेक निर्माण, अग्निनियन्त्रकलाई कठिन भूभागमा पहुँच बनाउन सहयोग तथा अन्य आपत्कालीन कार्यमा साथ दिइरहेका छन्। सैनिकहरूले क्यामोफ्लाज पोसाक र सुरक्षा हेल्मेट लगाएर जंगलमा आगो रोक्ने संरचना निर्माण गरिरहेको तस्वीर सार्वजनिक भएका छन्।
बेलायतको रक्षा मन्त्रालयका अनुसार सेनाको सहयोगले आपत्कालीन सेवाका टोलीलाई दुर्गम र पहुँच कठिन भएका क्षेत्रमा पुग्न सहज भएको छ।
वेल्सकी अर्थमन्त्री एलिन जोन्सले सेनाले उपलब्ध गराएको अतिरिक्त सहयोगप्रति आभार व्यक्त गर्दै आवश्यक परे सैन्य सहयोगको खर्च वेल्स सरकारले व्यहोर्न तयार रहेको बताएकी छन्।
दक्षिण वेल्स फायर एन्ड रेस्क्यु सर्भिसले क्षेत्रमा एकैपटक धेरै स्थानमा डढेलो फैलिएपछि ठूलो आपत्कालीन अवस्था घोषणा गरेको छ।
कार्डिफबाट करिब १३ माइल उत्तरमा पर्ने सिल्फिनिड क्षेत्रमा शनिबार दिउँसो हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। आगलागी नियन्त्रणका लागि इङ्ल्यान्डका विभिन्न अग्निनियन्त्रण सेवाबाट समेत थप जनशक्ति दक्षिण वेल्स पठाइएको छ।
यसबीच, अग्निनियन्त्रकहरूले कठिन परिस्थितिमा काम गरिरहेका छन्। फायर ब्रिगेड्स युनियनका वेल्स प्रतिनिधि गारेथ टोभीका अनुसार केही अग्निनियन्त्रकले ११ घण्टासम्मको सिफ्टमा विश्राम र शौचालय सुविधाबिनै काम गर्नुपरेको छ। अत्यधिक गर्मी र धुवाँका कारण उनीहरूको कार्यस्थिति निकै चुनौतीपूर्ण बनेको बताइएको छ।

मिड एन्ड वेस्ट वेल्स फायर एन्ड रेस्क्यु सर्भिसले पनि आफ्ना कर्मचारीका लागि अवस्था कठिन रहेको स्वीकार गर्दै स्थानीय समुदाय तथा व्यवसायले खाना र पेय पदार्थ उपलब्ध गराएर गरेको सहयोगप्रति धन्यवाद दिएको छ।
आगलागीका घटनामा प्रहरीले चार जना १४ वर्षीय किशोरलाई आगो लगाएको आशंकामा पक्राउ गरेको छ। उनीहरूलाई पछि अनुसन्धान जारी रहने गरी धरौटीमा रिहा गरिएको दक्षिण वेल्स प्रहरीले जनाएको छ।
डढेलोको प्रभाव वेल्समा मात्र सीमित छैन। नेसनल फायर चिफ्स काउन्सिलका अध्यक्ष फिल ग्यारिगनका अनुसार शनिबार बिहानसम्मको पछिल्लो २४ घण्टामा बेलायतभर ४३ वटा डढेलो रेकर्ड भएका थिए। उनले बेलायत अझै जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको अग्रपंक्तिमा रहेको बताएका छन्।
क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट सन् २००१ मा तीन पुराना युनिटलाई एकीकरण गरी स्थापना गरिएको थियो। बेलायती सेनामा कार्यरत अधिकांश नेपाली गोर्खा सैनिक रोयल गोर्खा राइफल्समा पैदल सैनिकका रूपमा सेवा गर्छन् भने अन्यले लजिस्टिक्स, इन्जिनियरिङ र सिग्नलजस्ता कम्ब्याट सपोर्ट भूमिकामा जिम्मेवारी सम्हाल्छन्।