३१ श्रावण २०८३, आईतवार
Follow Us

एनआरएनए एसिया प्यासिफिक सम्मेलन सम्पन्न, २१ बुँदे ग्वाङ्गन्जाओ घोषणापत्र जारी

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०८३, आईतवार १७:४४

ग्वाङ्गन्जाओ, चीन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन “आरोहण २०२६ – Rising Together, Leading Forward” चीनको ग्वाङ्गन्जाओमा अगस्ट १४ देखि १६ सम्म सम्पन्न भएको छ। सम्मेलनले गैरआवासीय नेपालीका अधिकार तथा सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा नेपाली डायस्पोराको योगदानलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत गर्ने विषयमा जोड दिएको छ।

सम्मेलनको उद्घाटन समारोहमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसद तथा पूर्वसांसदहरूको समेत सहभागिता रहेको थियो।

त्यस्तै, चीनका लागि नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनाल, आर्थिकमन्त्री पार्वती खनाल, ग्वाङ्गन्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनाल, ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला, हङकङस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत सतिष गुरुङ, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदी लगायत एनआरएनएका पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, व्यवसायी, विज्ञ, महिला तथा युवा प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट ५ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए।

सम्मेलनका विभिन्न विषयगत सत्रमा गैरआवासीय नेपालीका अधिकार, नागरिकता, मतदान अधिकार, पीएनओ तथा गोर्खा र लगानीका अवसरबारे छलफल गरिएको थियो। साथै एसिया प्यासिफिक क्षेत्रका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को सुदृढीकरण, एनआरएनएको पुनःब्रान्डिङ, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण, प्रवासी नेपाली शक्तिमार्फत नेपाल प्रवर्द्धन, महिला सशक्तीकरण, मानव बेचबिखनविरुद्धको अभियान तथा नेपालको रूपान्तरणका विषयमा अन्तरक्रिया भएको थियो।

यसैगरी, दोस्रो पुस्ताका नेपालीहरूको पहिचान, नेतृत्व विकास तथा विश्वव्यापी कनेक्टिभिटीका विषयमा पनि सम्मेलनमा विशेष छलफल गरिएको थियो।

सम्मेलनले गैरआवासीय नेपालीका अधिकार तथा सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा नेपाली डायस्पोराको योगदानलाई थप संस्थागत गर्ने उद्देश्यसहित २१ बुँदे ‘ग्वाङ्गन्जाओ घोषणापत्र २०२६’ जारी गरेको छ।

घोषणापत्रमार्फत गैरआवासीय नेपाली समुदायका अधिकार, लगानी, सुरक्षित वैदेशिक रोजगार, पुनःएकीकरण, महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको नेतृत्व र नेपालसँगको डायस्पोरा सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा संस्थागत पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

११ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन
“आरोहण २०२६ – Rising Together, Leading Forward”
१५ –१६ अगस्ट २०२६

ग्वाङ्गन्जाओ घोषणापत्र २०२६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन “आरोहण २०२६ – Rising Together, Leading Forward” चीनको ग्वाङ्गन्जाओमा १४ देखि १६ अगस्ट २०२६ सम्म सम्पन्न भयो।
सम्मेलनको उद्घघाटन समारोहमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता माननीय भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष अतिथिका रूपमा माननीय बसना थापा, नेपाली कांग्रेस प्रमुख सचेतक; माननीय ऐनबहादुर महर, नेकपा (एमाले) प्रमुख सचेतक; माननीय युवराज दुलाल, नेकपा (नेपाली कम्युनिष्ट पार्टी ) प्रमुख सचेतक; माननीय आरेन राई, श्रम संस्कृति पार्टी प्रमुख सचेतक; माननीय खुश्बू ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख सचेतक; माननीय मनिष झा, राष्ट्रिय स्वतन्त्र पार्टी; माननीय जगदीश खरेल, सांसद तथा पूर्वमन्त्री; माननीय सोम शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी; माननीय खगेन्द्र सुनार, राष्ट्रिय स्वतन्त्र पार्टी; माननीय क्षितिज थेबे, नेकपा (एमाले) र पूर्वसांसद माधव सापकोटा (नेकपा) सहभागी हुनुभएको थियो। त्यस्तै चीनका लागि नेपाली राजदुतावासकी कार्यवाहक राजदुत रोशन खनाल,आर्थिकमन्त्री पार्वती खनाल तथा ग्वाङ्गन्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनाल, ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला, हङकङस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत सतिष गुरुङ ,परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदी, लगायत एनआरएनएका पदाधिकारी, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, व्यवसायी, विज्ञ, महिला तथा युवा प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सम्मेलनमा प्रत्यक्ष र भर्चुअल माध्यमबाट ५ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सम्मेलनमा गैरआवासीय नेपालीका अधिकार, नागरिकता, मतदान अधिकार, पीएनओ तथा गोर्खा र लगानीका अवसर; एसिया प्यासिफिक क्षेत्रका एनसीसीको सुदृढीकरण तथा एनआरएनएको रि ब्रान्डिङ; सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण; प्रवासी नेपाली शक्तिमार्फत नेपाल प्रवर्द्धन; महिला सशक्तीकरण, मानव बेचबिखनविरुद्धको अभियान तथा नेपालको रूपान्तरण; र दोस्रो पुस्ताका नेपालीहरूको पहिचान, नेतृत्व तथा विश्वव्यापी कनेक्टिभिटी लगायतका विषयगत सत्रमा छलफल तथा अन्तरक्रिया भएको थियो।

गैरआवासीय नेपालीका अधिकार तथा सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा नेपालको आर्थिक र सामाजिक विकासमा नेपाली डायस्पोराको योगदानलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत गर्ने उद्देश्यका साथ ११ औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनवाट २१ बुँदे ‘ग्वाङ्गन्जाओ घोषणापत्र २०२६’ जारी गरेको छ ।

१. नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका सम्पूर्ण निर्णय र सहजिकरणको लागि हार्दिक आभार व्यक्त गर्दै संविधानको धारा १४ मा व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि यथाशक्य छिटो आवश्यक कानूनी प्रबन्ध मिलाइदिन तथा गैरआवासीय नेपाली सम्बन्धी ऐन यथाशक्य छिटो संशोधनसहित कार्यान्वयनमा ल्याउन यो सम्मेलन आग्रह गर्दछ। संविधान संशोधन मार्फत वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गर्दछ ।

२. विदेशमा रहेका नेपालीहरुको सानादेखि ठूलासम्म लगानी भित्र्याउने उद्देश्यले स्थापित नेपाल सरकार समेतको लगानी रहेको १० अर्बको ‘नेपाल एनआरएन डेभलपमेन्ट फण्ड’ मा गैरआवासीय नेपालीको सामूहिक लगानीका लागि सरकारले ८५ प्रतिशतसम्म प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न स्वीकृति दिने निर्णय गरेकोमा यो सम्मेलन उक्त निर्णयको स्वागत गर्दछ । साथै यो फण्ड सञ्चालनको लागि आवश्यक कानूनी व्यवस्थाहरु यथाशिघ्र पुरा गर्न र धितोपत्र बोर्डले निर्देशिका जारी गरे पछि यथासक्य छिटो आइपिओमा जाने प्रतिबद्धता पनि सम्मेलनले ब्यक्त गर्दछ । साथै सो फण्डलाई भविष्यमा थप विस्तार सहजीकरण गर्ने यस सम्मेलन प्रतिवद्धता ब्यक्त गर्दछ ।

३. नेपाल सरकारले गैरआवासीय नेपालीहरूलाई खास प्राकृतिक लगानीकर्ता (सुप्रिम अर्गानिक इन्भेष्टर) को स्थान दिइ पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा लगानी गर्न वार्षिक एक खर्बको ‘डायस्पोरा बण्ड’ जारी गर्ने प्रस्तावलाई यो सम्मेलनले हृदयदेखि स्वागत गर्दछ । साथै ‘विदेशमा बस्ने नेपालीहरुको लगानी प्रोत्साहन गर्न नेपालीहरुको उल्लेख्य बसोवास रहेका देशहरूसँग दोहोरो कर प्रणाली अन्त्य गर्न द्विपक्षीय सम्झौता तत्काल गर्न नेपाल सरकार समक्ष अनुरोध पनि सम्मेलनले गरेको छ ।
४. हिमालय सीमा पार व्यापारका अवसर र चुनौतीलाई सम्वोधन गर्न कनेक्टिभिटी र पूर्वाधार(सडक,पुल, अन्तराष्ट्रियस्तरको ल्याव लगायतका संरचना) विकासमा लगानी गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै प्रमुख राजनीतिक दलहरुका सांसदहरुले यी नाकाहरु सदाबहार सञ्चालनयोग्य बनाउन सदन र अन्य माध्यमबाट पहल गर्ने प्रतिवद्धता जनाउनु भएकोमा सम्मेलनले धन्यवाद ब्यक्त गरेको छ ।

५. सम्मानित सर्वोच्च अदालतले ७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनू भनी निर्देशन दिएपनि विदेशमा रहेका नेपाली नागरिकहरूले निर्वाचनमा भाग लिन पाउने व्यवस्था अझैसम्म पनि हुन सकेको छैन । तसर्थ वर्तमान सरकारले आफ्नो निर्वाचनको प्रतिवद्धता अनुसार आवश्यक ऐन, कानून निर्माण र संशोधन गरी अनलाइन मार्फत मतदाता नामावली दर्ता गर्ने काम तत्काल शुरु गर्न र निकट भविष्यमा हुने प्रदेश र स्थानीय तहको निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ।
६. म्यानमार, मलेसिया, फिजी, थाईल्याण्ड, कम्बोडिया लगायतका देशहरुमा रहनुभएका नेपाली मुलका ५ लाख भन्दा बढी नेपालीहरुलाई ‘पिपुल्स अफ नेपाली ओरिजिन’ (पीएनओ) को परिचयपत्र प्रदान गर्नका लागि यथाशक्य चाँडो आवश्यक कानूनी प्रबन्ध गर्न नेपाल सरकारसँग यो सम्मेलन माग गर्दछ । उनीहरुलाई पनि समेट्ने कानुन लामो समयदेखि अल्झदै आएकाले यथाशिघ्र अघि वढाउन सम्मेलन आग्रह गरेको छ ।

७. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा पीएनओ, युवा महिलालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने उदेश्यसहित आगामी जनवरी महिनामा हुने ‘पहिलो एनआरएनए दोस्रो पुस्ता तथा महिला सम्मेलन’लाई सफल गराउन यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । एनआरएनएको हरेक निर्णय प्रक्रियामा युवा र दोस्रो पुस्ताको प्रतिनिधित्वलाई सुनिश्चित गरिने प्रतिवद्धता ब्यक्त गर्दछ । यो सम्मेलनले विदेशमा जन्मे–हुर्केका नेपाली मूलका दोस्रो पुस्ताका युवाको नेपाली पहिचान, भाषा, संस्कृति तथा मातृभूमिसँगको सम्बन्धलाई सुदृढ गर्न विशेष कार्यक्रम तय गर्ने छ । गैरआवासीय नेपालीहरुको तर्फबाट पहिलो पटक मिस वर्ल्ड नेपाल २०२६ को माग लिएर सफलता प्राप्त गर्नु भएकी दिपमाला ढकाललाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी वर्ष आयोजना हुने मिस वर्ल्ड २०२७को सफलताको लागि यो सम्मेलन हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । साथै, नेपालको समृद्धिको लागि दोस्रो पुस्ताले विदेशमा सकेको ज्ञान र सिपलाई नेपालसंग जोड्नको लागि आवश्यक प्रवन्ध गर्न अनुरोध गर्दछ ।

८.वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयनसहित त्यसको निरन्तरता सुनिश्चितता गर्ने सो सम्मेलन नेपाल सरकारसंग तपशिल अनुसार अनुरोध गर्दछ ।

 समस्या परेका श्रमिकहरुको राहतको लागि आवश्कता भएका देशहरुमा ‘श्रमिक सेल्टर’को स्थापना गर्ने ।
 हाल सञ्चालनमा रहेको वैदेशिक रोजगार राहत कोषलाई श्रमिकहरूको हितका लागि प्रभावकारी रूपमा सदुपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।
 यो कोषमार्फत वैदेशिक श्रमिकहरूका लागि समर्पित ‘श्रमिक अस्पताल’ नेपालमा स्थापना गर्ने तथा वैदेशिक रोजगारमा जाने व्यक्तिहरूका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने व्यवस्था गर्न अनुरोध गर्ने।
 एनसीसी अध्यक्षहरुलाई बाणिज्य तथा श्रमिक दुतको रुपमा नियुक्ती दिन सरकारलाई अनुरोध गर्ने ।
 प्रथम गैरआवासीय श्रमिक सम्मेलन छिटै आयोजना गर्ने ।

९. नेपाली श्रमिकलाई अन्तराष्ट्रिय श्रम बजारमा ब्यवस्थित र मर्यादित बनाउन एनआरएनए र नेपाल सरकारको प्रयासमा सिपमुलक तालिम र वैदेशिक रोजगारीवाट फर्केकाहरुलाई पुनस्थापना कार्यलाई रणनीतिक रुपमा योजनावद्ध कार्यक्रम सञ्चाल गर्ने ।
१०. नेपाल सरकारले संविधान संशोधनको छलफल गरिरहेकाले संविधानको धारा २९१को खारेजी गर्ने प्रक्रिया संविधान संशोधनसंगै अघि वढाउन पनि सम्मेलनले नेपाल सरकार र सवै राजनीतिक दलहरुलाई आग्रह गर्दछ । गैरआवासीय नेपालीहरुको नेपालमा लगानी सुनिश्चत गर्नको लागि आवश्यक गैरआवासीय नेपाली ऐन संशोधन गरी वंशजको नागरिकताको निरन्तरता मार्फत “एक पटकको नेपाली सधैंको नेपाली” को मर्म र भावनालाई सुनिश्चित गर्नको लागि यो सम्मेलन नेपाल सरकार समक्ष आग्रह गर्दछ ।
११.नेपाली श्रमिकलाई अन्तराष्ट्रिय श्रम बजारमा ब्यवस्थित र मर्यादित एनआरएनए र नेपाल सरकारको प्रयासमा सिपमुलक तालिम र वैदेशिक रोजगारीवाट फर्केकाहरुलाई पून : स्थापना कार्यलाई रणनीतिक योजना बनाइ कार्यान्वयन गर्ने निर्णय गर्दछ ।
१२.विश्वभर रहेका गैरआवासीय नेपालीलाई नेपालको पर्यटन, संस्कृति, कला, उत्पादन तथा व्यापार प्रवर्द्धनका लागि प्रभावकारी माध्यमका रूपमा परिचालन गर्ने यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ। साथै नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै नेपाल र एसिया प्यासिफिक क्षेत्रका पर्यटकीय गन्तव्य तथा मौलिक संस्कृति, कला र उत्पादन आदानप्रदान एवं नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, बजारीकरण र ब्रान्डिङका लागि डायस्पोराको सञ्जाल, व्यवसायिक पहुँच तथा जनस्तरको सम्बन्ध विस्तारमा गैरआवासीय नेपाली समुदायलाई पुलका रूपमा परिचालन गर्न प्रतिबद्धता व्यक्त गर्दछ। एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली समुदायबीच ज्ञान, अनुभव तथा स्रोतको आदानप्रदानलाई थप विस्तार गर्ने निर्णय सम्मेलनले गरेको छ।
१३ . बिदेशमा रहेका नेपाली महिलाको नेतृत्व, उद्यमशीलता, आर्थिक सहभागिता तथा संस्थागत प्रतिनिधित्व बढाउन आवश्यक कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ। साथै महिलाको सुरक्षित आप्रवासन, स्वास्थ्य, कानुनी पहुँच, आर्थिक आत्मनिर्भरता तथा नेतृत्व विकासलाई एनआरएनएको प्राथमिकतामा राख्दै आवश्यक सहकार्य र समन्वयका लागि आह्वान गर्ने निर्णय गर्दछ ।
१४. विश्वभर फैलिएका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा पेशाकर्मीको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्न, संयन्त्र निर्माण तथा सुदृढ गर्दै डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा नेपाली डायस्पोरविच सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। साथै, एसियासहित विश्वभर रहेका नेपाली उद्यमी, व्यवसायी, लगानीकर्ता तथा पेशाकर्मीको Enterprise Mapping गरी उनीहरूको विशेषज्ञता, लगानी क्षमता र बजार पहुँचको तथ्यांक संकलन तथा डिजिटल माध्यमबाट परिचालन गर्न आवश्यक पहल गर्न सरोकारवाला सबैलाई सम्मेलनले आह्वान गर्दछ।
१५. आगामी जनवरीमा आयोजना हुने चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन तथा प्रथम र दोस्रो पुस्ता सम्मेलन सफल बनाउन नेपाल सरकार, राष्ट्रिय समन्वय परिषद्लगायत सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सहयोग र सहकार्यका लागि यो सम्मेलन आह्वान गर्दछ। साथै, मध्यपूर्व क्षेत्रीय सम्मेलन नोभेम्बर २०२६, ओसेनिया क्षेत्रीय सम्मेलन डिसेम्बर २०२६ तथा अमेरिकाज् क्षेत्रीय सम्मेलन अप्रिल २०२७ मा सफलतापूर्वक आयोजना गर्न आवश्यक सहयोग र सहकार्यका लागि सम्बन्धित सबैमा आह्वान गर्दछ।
१५. काठमाडौंमा सम्पन्न संघको रणनीतिक कार्यशालाबाट तयार ‘NRNA Roadmap to 2030’ कार्यान्वयन गर्न आईसीसीले अघि सारेको रिब्रान्डिङको योजना कार्यान्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ। साथै, सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत आईसीसीको नेतृत्व चयन गर्ने नयाँ वैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न समयमै आवश्यक पूर्वाधार तयार गर्न आईसीसीलाई अनुरोध गर्दछ।
१७. नेपालीहरु रहेका देशका राजदुतावासको सेवा विस्तार गरी डिजिटल प्रणाली विकास गर्न पहल गर्ने र आवश्यक सहयोग तथा सहजिकरण गर्ने यो सम्मेलन निर्णय गर्दछ ।
१८. ‍सामाजिक सुरक्षा कोषमा जानका लागि पहल र सहयोग गर्न हरेक देशका एनआरएनएले फोकल पर्सन तोक्ने
१९. लाओस् , भियतनाम र इस्ट टिमुरमा नयाँ एनआरएनएको एनसिसि गठन गर्न पहल गर्ने
२०. आगामी १२ औ एशिया प्यासिफिक सम्मेलन लायोसमा गर्ने घोषणा गरिन्छ ।
२१. यस घोषणापत्रमा समेटिएका विषयलाई केवल प्रतिबद्धतामा सीमित नराखी सम्बन्धित सरकार, निकाय, एनआरएनए तथा सरोकारवालाबीच आवश्यक समन्वय गरी कार्यान्वयनमा लैजान सम्मेलनले प्रतिवद्धता ब्यक्त गरेको छ । घोषणापत्रमा उल्लेखित विषयको प्रगतिको नियमित समीक्षा गर्दै आगामी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा त्यसको प्रगति प्रस्तुत गरिने छ ।
अन्त्यमा, ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन “आरोहण २०२६ – Rising Together, Leading Forward” लाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र योगदान पुर्‍याउनुहुने आयोजक राष्ट्रिय समन्वय परिषद् चीन, आयोजक समितिका सदस्यहरू, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरू, एसिया प्यासिफिक क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरू, प्रायोजकहरू, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू, काठमाडौंस्थित सचिवालयका कर्मचारीहरु, तथा सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौ।

घोषणापत्र तयारी समिति
महासचिव
डा चिरञ्जिवी खड्का

संयोजकः दीपक कंडेल
सदस्यसचिव खगराज गौतम

चिरन शर्मा
दुर्गा दुलाल
संजिव बगाले
डा विमल सुवेदी
सुरेश झा
यादव अर्याल
इन्द्रलक्ष्मी घिमिरे

मितिः २०२६ अगष्ट १६
स्थानः चीन , ग्वाङ्गन्जाओ
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

धेरै पढिएको