काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा नेपाली दूतावासको भवन निर्माणका लागि सरकारले आवश्यक कानुन सुधार गरिसकेको जानकारी दिएका छन् । विदेशस्थित नियोगका भवन क्रमिक रूपमा निर्माण गर्दै लैजाने तयारी सरकारको रहेको पनि उनको भनाइ छ।
यो वर्ष रियाद दूतावासको भवन निर्माणका लागि १९ करोड, क्यानबेराका लागि करिब ५० करोड र बैङ्कक दूतावासको भवन निर्माणका लागि झन्डै ८ करोड रुपियाँ बजेट विनियोजन भएको पनि उनले जानकारी दिए ।
मन्त्री खनालले भवन निर्माणको बजेट सुनिश्चित गर्न विकल्प खोजी भइरहेको पनि जानकारी दिए । उनले विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिएका छन् ।
विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३ सय ७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको उनले बताए । कर्मचारीमध्ये १ सय ८५ जना नेपाली नागरिक र १ सय २६ जना विदेशी नागरिक रहेको पनि उनको भनाइ छ। कूटनीतिक नियोगमा स्थानीय कर्मचारी भर्ना गर्ने अभ्यास अनुसार नेपालले पनि त्यस्ता कर्मचारी भर्ना गर्ने गरेको जानकारी दिए ।
नेपालबाट थप कर्मचारी पठाउनुभन्दा स्थानीय कर्मचारी नियुक्त गर्दा आर्थिक रूपमा मितव्ययी हुनुका साथै काममा सहजता र प्रशासनिक तथा कूटनीतिक दृष्टिले पनि व्यावहारिक हुने उनको भनाइ छ।
केही पद राजदूत नियुक्त भएपछि पूर्ति हुने र राजदूत फिर्ता भएसँगै रिक्त हुने भएकाले सबै दरबन्दीमा एकै पटक कर्मचारी कार्यरत नरहेको उनले स्पष्ट पारे ।
स्थानीय कर्मचारीको तलबमा आर्थिक वर्ष २०८२/८३ मा ९१ करोड १७ लाख ३८ हजार रुपियाँ खर्च भएको पनि मन्त्री खनालले जानकारी दिए । उनले नेपाली नियोगमा स्थानीय कर्मचारीको सङ्ख्या नेपालजस्तै ठूलो डायस्पोरा भएका अन्य मुलुकको तुलनामा निकै कम रहेको दाबी गरे ।