काठमाडौँ । नेपाली काँग्रेसका विदेशस्थित जनसम्पर्क समितिहरूमध्ये १४ देशमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ। विशेष महाधिवेशनको तयारीका क्रममा तथा पार्टीको केन्द्रीय नेतृत्व परिवर्तनपछि विभिन्न देशमा भएका अधिवेशनबाट समितिहरूले नयाँ सभापति चयन गरेका हुन्।
विशेष महाधिवेशनअघि नै अधिवेशन सम्पन्न गर्ने जनसम्पर्क समितिमा कुवेत, नर्वे, बहराइन, ओमान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया रहेका छन्।
त्यसपछि अमेरिका, जापान, भारत, बेल्जियम, फ्रान्स, दक्षिण कोरिया र नेदरल्यान्डमा पनि जनसम्पर्क समितिका अधिवेशन सम्पन्न भएका छन्। यी अधिवेशन पार्टीको केन्द्रीय नेतृत्व परिवर्तनपछिको प्रक्रियासँग जोडिएका छन्।
अधिवेशनबाट कुवेतको सभापतिमा केशर घलान, नर्वेमा पारसमणि मिश्र, बहराइनमा शेरबहादुर रावत, ओमानमा सञ्जयकुमार साह र साउदी अरेबियामा तुसनबहादुर थापा चयन भएका छन्। त्यस्तै, युएईमा भुवानीप्रसाद तिमिल्सिना र मलेसियामा चोलाकान्त पंगेनीले जनसम्पर्क समितिको नेतृत्व सम्हालेका छन्।
नयाँ नेतृत्व चयन भएका अन्य मुलुकमा जापानको सभापतिमा राजेन्द्रकुमार जमरकट्टेल, दक्षिण कोरियामा भजिन्द्र क्षेत्री, नेदरल्यान्डमा जितेन्द्रकुमार श्रेष्ठ र बेल्जियममा देवेन्द्र शर्मा (देबु) रहेका छन्।
फ्रान्स र भारतमा शिवराम भण्डारी सभापति चयन भएका छन्। अमेरिकामा मुनिन्द्र नेम्बाङ तथा हङकङमा शैलेन्द्रसिंह बोगटीको नेतृत्वमा नयाँ समिति बनेको जनाइएको छ।
नेपाली काँग्रेसको विदेशस्थित संगठन संरचनाअन्तर्गत विभिन्न ३७ देशमा जनसम्पर्क समिति रहेका छन्। पछिल्लो अधिवेशन प्रक्रियाले ती समितिमध्ये विभिन्न देशमा नेतृत्व पुनर्गठनको क्रम अघि बढेको देखाएको छ।