७ भाद्र २०८३, आईतवार
Follow Us

धवलशम्शेर र पूर्वराजाबीच दुई घन्टा छलफल

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८३, आईतवार ११:१४

काठमाडौं । जय नेपाल पार्टीका सभापति तथा पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । काठमाडौंस्थित सोल्टी होटलमा शनिबार भएको भेटवार्तामा उनीहरूबीच करिब दुई घन्टा ‘वान टू वान’ कुराकानी भएको हो ।

हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा राणा र पूर्वराजा शाहबीच छुट्टै भेटवार्ता भएको जय नेपाल पार्टीका नेताहरूले बताएका छन् ।

जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । उनका अनुसार भेटवार्ता ‘फलदायी’ रहेको थियो ।

छलफलमा जय नेपाल पार्टी गठन, पार्टीका उद्देश्य तथा मुलुकको समसामयिक राजनीतिक र सामाजिक अवस्थाबारे लामो कुराकानी भएको थियो ।

‘हामीले जय नेपाल पार्टी गठन गरेका छौं, त्यसबारे पनि उहाँलाई जानकारी गराएँ । शुभकामना आदानप्रदानका कुरा भए, समसामयिक राजनीतिक र सामाजिक अवस्थाका बारेमा लामो कुराकानी भयो,’ राणाले भने ।

नयाँ पार्टी गठन गरेकोमा पूर्वराजा शाहले आफूलाई शुभकामना दिएको र राय–सल्लाहसमेत दिएको राणाको भनाइ छ । उनका अनुसार पूर्वराजा शाहले सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए ।

भेटका क्रममा राणाले जय नेपाल पार्टीको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न भइसकेको र पार्टीले राजसंस्था तथा हिन्दु राष्ट्रका पक्षमा जनमत निर्माण गर्दै अघि बढ्ने कार्यदिशा लिएकोबारे पनि पूर्वराजा शाहलाई जानकारी गराएका थिए ।

धेरै पढिएको