रोहतक । प्रवासी नेपाली संघ भारत, रोहतक नगर समितिको १४औँ नगर अधिवेशन सम्पन्न भएको छ। दिलिप गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वउपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेता पोखरेलले प्रवासमा रहेर पनि नेकपा एमालेको संगठनलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेका प्रवासी नेपाली संघ भारतमा आबद्ध सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति धन्यवाद व्यक्त गरे ।
उनले प्रवासमा रहेका नेपालीहरूले पार्टी र देशप्रतिको जिम्मेवारीलाई निरन्तरता दिँदै संगठन निर्माणमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।
विविध कारणले यसपटकको निर्वाचनमा नेकपा एमालेले अपेक्षाकृत कम सिट प्राप्त गरे पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। नेता पोखरेलले पार्टीलाई थप मजबुत र जनमुखी बनाउन सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सक्रिय भएर लाग्न आग्रह गरे ।
उनले भने “निर्वाचनको परिणामलाई लिएर निराश हुनुभन्दा त्यसबाट शिक्षा लिएर पार्टी संगठनलाई अझ बलियो बनाउनुपर्छ। जनताको विश्वास पुनः आर्जन गर्न पार्टीका नेता तथा कार्यकर्ता इमानदारीपूर्वक जनतामाझ पुग्न आवश्यक छ।”
वर्तमान सरकारले नेपाली जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँदै नेता पोखरेलले सरकारको कार्यशैलीप्रति नेकपा एमाले विश्वस्त हुन नसकेको बताए ।
उनले नेपालको राष्ट्रिय हित, स्वाधीनता र नेपाली जनताको हितलाई केन्द्रमा राखेर सरकार सञ्चालन हुनुपर्ने धारणा राख्दै वर्तमान सरकारको कार्यशैलीले नेपाली जनता तथा राष्ट्रहितलाई पर्याप्त प्राथमिकतामा राख्न नसकेको आरोप लगाए ।
प्रवासी नेपाली संघले पार्टीका नेता तथा कार्यकर्तामा उत्साह र हौसला प्रदान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले संघका तर्फबाट भइरहेका रचनात्मक तथा संगठनात्मक गतिविधिलाई निरन्तरता दिन आग्रह गरे । प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सहकार्य र संगठनात्मक सक्रियता अझ बढाउनुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं भारत इन्चार्ज हरि घिमिरे, प्रवासी नेपाली संघ भारतका केन्द्रीय समिति उपाध्यक्ष सीता अधिकारी, पूर्वसांसद तथा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसाल, केन्द्रीय सचिवालय सदस्य एवं लेखा प्रमुख रवि घिमिरे, केन्द्रीय सचिवालय सदस्य एवं कार्यालय सचिव तथा हरियाणा इन्चार्ज मोहन थापा, केन्द्रीय सदस्य तथा हरियाणा सहइन्चार्ज गीता घिमिरे, केन्द्रीय सचिवालय सदस्य एवं दिल्ली राज्य इन्चार्ज जीवन शर्मा, केन्द्रीय सचिवालय सदस्य नरेन्द्र विक, केन्द्रीय सदस्य मोहन तिमल्सिना, केन्द्रीय सल्लाहकार परिषद् सदस्य लिलाराम थापा तथा जयमणि जैसीलगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै, हरियाणा राज्य अध्यक्ष चन्द्र गुरुङ, उपाध्यक्ष सुमित्रा अधिकारी, सचिव रामप्रसाद भण्डारी, कोष विभाग प्रमुख रामसिंह केसी, राज्य समिति सल्लाहकार सदस्य पार्वती भण्डारीलगायतले पनि आफ्ना धारणा राखेका थिए ।
वक्ताहरूले पार्टीलाई थप बलियो बनाउन प्रवासबाट सकारात्मक तथा रचनात्मक गतिविधि भइरहेको उल्लेख गर्दै संगठनलाई अझ सशक्त बनाउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे ।
अधिवेशनमा पानीपत नगर समिति सचिव कमल धामी, भिवानी नगर समिति अध्यक्ष हिरालाल सोनी, विशाल नगर समिति सचिव माया राना, झज्जर नगर समिति सचिव केशव मडै, कर्नाल नगर समिति सल्लाहकार सदस्य वीरबहादुर बोहरा, फरिदाबाद नगर समिति सचिव ओमप्रकाश ढकाललगायत विभिन्न नगर समितिका प्रतिनिधि तथा प्रवासी नेपाली संघमा आबद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सोही अवसरमा हरियाणामा कक्षा १० मा ९३ प्रतिशत अंक ल्याएर उत्तीर्ण हुन सफल छात्रा ईशा विकलाई सम्मान गरिएको थियो। कार्यक्रममा जनवादी कलाकार जीवन शर्मालगायत कलाकारहरूले विभिन्न सांस्कृतिक झाँकी तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र शर्मा र पूर्वसचिव तारानाथ योगीले गरेका थिए । कार्यक्रमबारे प्रवासी नेपाली संघ भारतका मिडिया प्रभारी, रोहतक नगर समिति सचिवालय सदस्य तथा प्रवक्ता होमबहादुर थापाले जानकारी दिएका हुन् ।