८ भाद्र २०८३, सोमबार
Follow Us

गैरआवासीय नेपाली संघ र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सहायताका लागि सहकार्य सम्झौता

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०८३, सोमबार १५:४९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यहरूमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्र मा हस्ताक्षर भएको छ ।

सोमवार आयोजित एक कार्यक्रमका बीच दुई संस्थाले आगामी दिनमा थप संगठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले रेडक्रस र एनआरएनएको कार्य प्रकृतिमा समानता रहेको उल्लेख गरे ।

संघको तीन मुख्य स्तम्भमध्ये मानवीय सहायता र परोपकार एक रहेको चर्चा गर्दै उनले यो सम्झौताले सेवाका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

डा. शर्माका अनुसार हाल विश्वका ९२ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) विस्तार भइसकेको छ र यस कार्यकालभित्र १०० देशमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

यसअघि कोभिड-१९ को महामारीका समयमा कतार लगायतका देशमा रेडक्रससँग मिलेर काम गरिसकिएको अनुभव समेत उनले सुनाए। अध्यक्ष शर्माले एनआरएनएले यसअघि नै नेपालका पाँचवटा प्रदेशमा ‘ब्लड बस’ (रक्तदान बस) हस्तान्तरण गरिसकेको जानकारी दिँदै बाँकी दुई प्रदेश र केन्द्रका लागि थप तीनवटा बस उपलब्ध गराउने योजना रहेको बताए । समझदारी पत्रमा हस्ताक्षर भएसँगै यी कार्यहरू अझ प्रभावकारी र व्यवस्थित हुने उनको भनाइ छ ।

उनले भने, ‘यो समझदारी यात्राको सुरुवात मात्र हो । हामी नेपालभित्र मात्र नभई नेपालीहरू रहेका विदेशका विभिन्न मुलुकहरूमा पनि रेडक्रससँग समन्वय गरेर काम गर्न इच्छुक छौँ ।’

सहकार्यका प्रमुख क्षेत्रहरूका बारेमा प्रष्ट पार्दै डा. शर्माले विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको बाहुल्यता रहेका मध्यपूर्व र मलेसिया जस्ता देशहरूमा राहतका कार्यहरू सञ्चालन गरिने बताए ।

यसका साथै, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालको माटोसँग जोड्न ‘स्वयम्सेवक कार्यक्रम’ मार्फत रेडक्रसका विभिन्न गतिविधिमा सहभागी गराइने योजना रहेको उनले उल्लेख गरे । कार्यक्रममा डा. शर्माले आगामी मनसुन सिजनमा हुनसक्ने प्राकृतिक विपद्लाई मध्यनजर गर्दै तत्कालका लागि राहत कोष संकलन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र इन्टरनेसनल फेडरेसन अफ रेडक्रसका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

धेरै पढिएको