काठमाडाैं । मोरोक्कोमा एक स्प्रिन्टिङ (दौड) प्रशिक्षकद्वारा नाबालिगमाथि भएको यौन दुर्व्यवहारको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा बेलायतका तीन पूर्व खेलाडी दोषी ठहरिएका छन्।
यस कानुनी कारबाहीको परिणाम स्वरूप ‘युके एथलेटिक्स’का प्रशिक्षक एवं सन् २०१० को कमनवेल्थ गेम्समा २०० मिटर दौडका स्वर्ण पदक विजेता लियोन ब्याप्टिस्ट जेल परेका हुन्।
बीबीसी स्पोर्टले उनको दोषी ठहर र जेल सजायको खुलासा गर्नु अघि ब्याप्टिस्ट मोरोक्कोमा हराएको दाबी गरेकाे थियो। अदालतका फैसलाहरूका आधारमा सोही मुद्दासँग सम्बन्धित अन्य दोषीहरूबारे थप विवरणहरू सार्वजनिक भएका छन्।
कमनवेल्थ गेम्समा दुई पटक रजत पदक जितेका हर्डलर (बाधा दौडका खेलाडी) विल शर्मन, उनका भाइ एवं पूर्व बब्सले खेलाडी रिचर्ड शर्मन र बब्सलेकै अर्का पूर्व खेलाडी लामिन डिन, जो सबै ब्याप्टिस्टसँग बिदा मनाउन गएका थिए, नाबालिगलाई प्रलोभनमा पार्ने कार्यमा संलग्न रहेको अभियोगमा दोषी ठहरिएका हुन्। सोही कसुरमा उनीहरूका परिचित एस्ली ओलेरी जोन्स र डेभिड टक पनि दोषी ठहरिएका छन्।
तर, उक्त समूहले आफ्ना वकिलहरूमार्फत आफूहरू कहिल्यै पक्राउ नपरेको र दोषी ठहर भएको विषयमा अनभिज्ञ रहेको दाबी गरेका छन्। ती पाँचै जनाको तर्फबाट एक प्रवक्ताले बीबीसी स्पोर्टलाई भने, “विलियम, रिचर्ड, लामिन, डेभिड र एस्ली अचानक आइपरेको यस परिस्थितिबाट स्तब्ध र विचलित भएका छन्। उनीहरू जानी-जानी कुनै पनि गैरकानुनी वा अनुचित कार्यमा संलग्न भएको आरोप अस्वीकार गर्छन्। आफूहरूमाथि तोकिएका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेरै मोरोक्कोबाट फर्किएको उनीहरूको भनाइ छ। त्यतिबेला करिब ४० पाउण्ड बराबरको प्रशासनिक जरिवाना तिरेपछि सो मामिला टुङ्गिएको उनीहरूले बुझेका थिए।”
त्याे बेला माराकेसको बाहिरी इलाका तामेन्सोर्टस्थित एक भिल्लामा प्रहरीले छापा मारेको थियो। एक किशोरीले प्रहरीलाई सम्पर्क गरी आफूलाई सो भिल्लामा ल्याइएको, ब्याप्टिस्टसँग यौन सम्पर्क गरेबापत दिने भनिएको रकम नपाएको र घडी चोरेको आरोपमा घरको हेरचाह गर्ने व्यक्ति (हाउसकिपर) बाट कुटपिटको सिकार हुनुपरेको उजुरी दिएपछि प्रहरीले छापा मारेको थियो। जुन घटना पछि याे खुलासा भएकाे थियाे ।
त्यसपछि ४१ वर्षीय ब्याप्टिस्ट नाबालिगमाथि यौन दुर्व्यवहार गरेकोमा दोषी ठहरिए र उनलाई १० महिनाको जेल सजाय सुनाइयो। पछि पुनरावेदनमार्फत उक्त सजाय घटाएर आठ महिना कायम गरिएको थियो।
अदालतले फैसला सुनाउँदासम्म उक्त समूह मोरक्कोबाट बाहिरिइसकेको थियो। तथापि, जुलाईमा भएको पुनरावेदन सुनुवाइले उनीहरूमाथिको दोषी ठहर र सजायलाई यथावत् राख्यो।
बीबीसी स्पोर्टलाई आफ्ना वकिलमार्फत दिएको प्रतिक्रियामा शर्मन दाजुभाइ, डिन, ओ’लेरी जोन्स र टकले आफूहरू चालकको सुझावका आधारमा ‘मोन्टेक्रिस्टो’ नाइटक्लब गएको बताएका छन्। उक्त स्थान कुनै अमर्यादित वा शंकास्पद ठाउँ होला भन्ने सोच्नुपर्ने कुनै कारण नभएको उनीहरूको दाबी छ।
उनीहरूका अनुसार ती युवतीको उमेरबारे आफूहरूलाई कुनै जानकारी थिएन र समूहका केही सदस्यहरूलाई त नाइटक्लबमा उनलाई देखेको समेत याद छैन। साथै, आफूहरू बसेको भिल्ला निकै ठूलो भएकाले भिल्लाभित्र ती पुरुषहरू र ब्याप्टिस्टबीचको अन्तरक्रिया पनि सीमित नै रहेको उनीहरूले दावी गरिरहेका छन् ।