१५ भाद्र २०८३, सोमबार
Follow Us

सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छः ओली

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८३, सोमबार ११:२५

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले सरकारको विपद् व्यवस्थापन कार्यप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा मन्त्रीहरूलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी गरे ।

ओलीले विपद्पछि केन्द्रीय सरकारलाई नै खोज्नुपर्ने अवस्था आएको बताए । निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै उनले असन्तुष्टिसमेत जनाए ।

उद्धारका लागि तालिम प्राप्त जनशक्ति तथा हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए थप प्रभावकारी उद्धार हुन सक्ने भए पनि सरकारको त्यसतर्फ ध्यान नपुगेको उनको भनाइ छ ।

ओलीले भने, ‘कोही जान्छन् नागरिकलाई हप्कीदप्की गरेर फर्किन्छन्, बडप्पन देखाउँछन् । कोही जान्छन् आधारहीन निर्देशन दिएर फर्किन्छन् । कोही समस्यामाथि समस्या थपेर फर्किन्छन् । हामी समस्यामा मलमपट्टी लगाउन खोजिरहेका छौँ ।’

एमालेका नेता, कार्यकर्ता तथा स्थानीय र प्रदेशका जनप्रतिनिधिहरू प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेको उल्लेख गर्दै उनले सरकारको उपस्थितिमाथि प्रश्न उठाए ।

‘यतिखेर पनि हाम्रो पार्टीका नेता कार्यकर्ताहरू, स्थानीय र प्रदेशका जनप्रतिनिधिहरूसमेत स्थलमै खटिएर काम गरिरहनुभएको छ । यस्तो अवस्थामा सरकार कहाँ छ खोज्नुपर्छ । केन्द्रीय सरकार चाहिँ कहाँ छ ?’, ओलीले भने ।

उनले सरकारले घरको छतमा फसेका मानिसको उद्धारजस्ता काम मात्रै गरिरहेको टिप्पणी गरे ।

‘कहिलेकाहीँ हेलिकप्टरमा उडेको देखिन्छ । घरको छतमा कोही छ भने त्यसलाई बाढी गइसक्यो, घरको छतमा घर टिक्या छ, घरको छतमा मान्छे छ भने निकालेको देखिन्छ । यस्तै यस्तै काम गएको देखिन्छ । तैपनि धन्यवाद, केही त गरेको छ’, उनले भने ।

निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न नदिइएकोप्रति ओलीले आपत्ति जनाए । उद्धारमा तालिम प्राप्त जनशक्ति तथा निजी हेलिकप्टर उपलब्ध हुँदाहुँदै सरकारले प्रयोगमा रोक लगाउनु उचित नभएको उनको भनाइ छ ।

‘निजी क्षेत्रलाई हेलिकप्टर चलाउन दिएको छैन । निजी हेलिकप्टर पनि जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न उत्सुकहरू छन् । उद्धारका निम्ति ट्रेनिङ लिएका मान्छेहरू छन् । त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने, तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे । तर प्रतिबन्ध लगाएर हेलिकप्टर रोकिदिएको छ’, उनले भने ।

सुरुङभित्र तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट उद्धार सम्भव नहुने भन्दै ओलीले त्यस्ता क्षेत्रमा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरण परिचालन गर्नुपर्ने बताए ।

उनले प्रभावित स्थानीयले आफ्ना आफन्तको खोजी गर्न पाउनुपर्ने माग गरिरहेको अवस्थामा सरकारले त्यसमा समेत रोक लगाएको आरोप लगाए ।

‘अब रेस्क्यु कहाँ कहाँनेरी गर्नुहुन्छ ? सुरुङमुनिको रेस्क्यु त हेलिकप्टरबाट गर्दैन । त्यहाँ मान्छे रोकेर राखेको बल्ल खोल्या छ । स्थानीयले हामीलाई कमसेकम आफन्तहरू खोज्न देऊ न भनिरहेका छन् । सरकारले दिएको छैन । यस्तो अवस्थामा पनि हामीले काम गरिरहेका छौँ’, ओलीले भने ।

एमालेका नेता तथा कार्यकर्ता र स्थानीय तथा प्रदेशका जनप्रतिनिधिहरू प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार तथा राहतमा सहयोग गरिरहेको उनले दाबी गरे ।

धेरै पढिएको