१५ भाद्र २०८३, सोमबार
Follow Us

जिरोङमा थप वर्षाको सम्भावना, अवरोध तालमा पानीको सतह बढ्न सक्ने चेतावनी

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८३, सोमबार ११:३५

काठमाडौं । चीनको मौसम विज्ञान प्रशासनले सोमबार जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको बताएको छ । साथै, विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडकमा सतह चिप्लो हुने भन्दै सावधानी अपनाउन चेतावनी समेत दिएको छ ।

मौसम पूर्वानुमानअनुसार तापक्रम ४६ डिग्री फरेनहाइट (करिब ८ डिग्री सेल्सियस) सम्म झर्न सक्नेछ। दिन र रातको तापक्रममा ठूलो अन्तर हुने तथा मौसम ओसिलो र चिसो महसुस हुन सक्ने बताइएको छ । दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पनि प्रशासनले जनाएको छ ।

निरन्तर वर्षाका कारण विपद्का क्रममा सुरुमा गएको पहिरोबाट बनेको ताल (ब्यारियर लेक) मा पानीको सतह थप बढ्न सक्ने चेतावनीसमेत दिइएको छ ।

तालको पानी भरिएर बाहिर निस्कँदा थप विपद् निम्तिन सक्ने जोखिमका कारण चीनले यसअघि उद्धार अभियानसमेत केही समयका लागि स्थगित गरेको थियो ।

यसअघि आएको पहिरो र बाढीका कारण नेपाल–चीन सीमास्थित जिरोङ बन्दरगाह क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ। थप वर्षाको सम्भावनाले उद्धार तथा राहत अभियानमा थप चुनौती उत्पन्न हुन सक्ने चिन्ता बढेको छ।

धेरै पढिएको