लण्डन । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधि आज २३औँ दिनमा पनि निरन्तर जारी रहे।
रसुवाको उत्तरगया गाउँपालिका–२, डाँडागाउँस्थित स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा आज ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। एनआरएनए ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा सञ्चालित शिविरमा डा. कावेरी कार्की, डा. सोवित गुरुङ र हरि कोजुको टोलीले डाँडागाउँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा स्वयंसेवक हेम थापा मगरको सहकार्यमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो।
शिविरमा बाढीका कारण उत्पन्न गम्भीर मानसिक आघात (Severe Shock), पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD), मौसमी फ्लु, एलर्जी तथा छालासम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेह, झाडापखाला तथा बान्ता, थाइराइड, पेटसम्बन्धी समस्या, हाडजोर्नी तथा फोक्सो र मुटुसम्बन्धी समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो।
बाढीपछि पहिलोपटक उच्च रक्तचाप देखिएका केही बिरामीलाई आवश्यक औषधिसहित उपचारसमेत सुरु गरिएको छ। त्यसैगरी, बाढी प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको थियो।
विपद् प्रभावित क्षेत्रको स्वास्थ्य सेवामा थप सहयोग पुर्याउन एनआरएनएको तर्फबाट रसुवा र नुवाकोटमा विभिन्न चरणमा हालसम्म १० वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ती शिविरबाट करिब ७ सय जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्। रसुवामा भने स्वास्थ्य शिविर सञ्चालनको आज चौथो दिन हो।
यसैबीच, भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धताअनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको एनआरएनएले जनाएको छ। पदाधिकारीहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), विदेशमा रहेका विभिन्न संघसंस्था तथा नेपालीहरूको व्यक्तिगत सहयोगबाट हालसम्म रु. ५०,३७९,२८७.७० राहत कोषमा जम्मा भएको छ।