३ आश्विन २०८३, शनिबार
Follow Us

बाढीपीडितका लागि एनआरएनए स्पेनद्वारा २० लाखभन्दा बढी सहयोग हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८३, शनिबार २०:४३

बार्सिलोना । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि गैरआवासीय नेपाली संघ स्पेनले €11,596.75 अर्थात् करिब रु. २० लाख ४० हजार सहयोग रकम हस्तान्तरण गरेको छ।

गैरआवासीय नेपाली संघ स्पेनको पहलमा स्पेनमा रहेका नेपाली समुदाय, विभिन्न सामाजिक तथा सामुदायिक संघ संस्था, व्यवसायी, समाजसेवी तथा व्यक्तिगत सहयोगीहरूबाट उक्त रकम संकलन गरिएको हो।

गैरआवासीय नेपाली संघ स्पेनका प्रवक्ता रमेश खनालले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विदेशमा रहे पनि मातृभूमिको दुःखमा नेपाली समुदाय एकजुट भएर उभिएको बताएका छन्।

“यो रकम आर्थिक सहयोग मात्र नभएर मातृभूमिको दुःखमा विदेशमा रहेका नेपालीको माया, आत्मीयता र ऐक्यबद्धताको प्रतिनिधित्व हो,” प्रवक्ता खनालले भने, “यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिनुभएका प्रत्येक व्यक्ति र संस्थाप्रति गैरआवासीय नेपाली संघ स्पेनको तर्फबाट हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु।”

राहत सहयोग संकलनसँगै गैरआवासीय नेपाली संघ स्पेनले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा विभिन्न स्थानमा श्रद्धाञ्जली, दीप प्रज्वलन तथा प्रार्थनाका कार्यक्रमसमेत आयोजना गरेको थियो।

बार्सिलोनास्थित जार्दिन दे हारा मा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै विशेष कीर्तन, श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली तथा स्पेनिस समुदायको सहभागिता रहेको थियो।

त्यसैगरी बेनिडोर्ममा स्थानीय नगरपालिका तथा नेपाली समुदायको सहभागितामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।

गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार, बेनिडोर्म नगरपालिकाले नेपाली समुदायको दुःखमा ऐक्यबद्धता जनाउँदै श्रद्धाञ्जली कार्यक्रममा सहकार्य गर्नुका साथै स्थानीय तहबाट समेत मानवीय साथ र समर्थन प्रदान गरेको थियो। उनले विपत्तिको समयमा नेपाली समुदायप्रति देखाइएको स्थानीय स्पेनिस समुदायको सद्भाव र सहानुभूतिप्रति आभार व्यक्त गरेका छन्।

प्रवक्ता खनालले राहत अभियान कुनै एक व्यक्ति वा संस्थाको प्रयास नभई स्पेनमा रहेका सम्पूर्ण नेपाली समुदायको साझा भावना र जिम्मेवारीको अभिव्यक्ति भएको बताए।

“हामी भौगोलिक रूपमा नेपालभन्दा टाढा छौँ, तर हाम्रो मन र भावना मातृभूमिसँगै छ। दुःखमा नेपाली समुदाय एक ठाउँमा उभिन सक्छ भन्ने सन्देश पनि यस अभियानले दिएको छ,” खनालले भने।

संघले सहयोग अभियानमा जोडिएका सम्पूर्ण नेपाली समुदाय, संघ–संस्था, व्यवसायी, समाजसेवी तथा व्यक्तिगत सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

धेरै पढिएको