११ आश्विन २०८३, आईतवार
Follow Us

नारायणी नदीमा जलसतह बढेसँगै बर्दघाट-सुस्तापूर्वका बस्ती डुबानमा

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८३, आईतवार ०३:४८

नवलपुर (नवलपरासी) । नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन् । गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी अनिल पण्डितकाअनुसार बोटेटोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो
अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुर्‍याएको छ। गएराति तिनाउमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११, टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो। बाढीकै कारण स्थानीय नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको छ।

बाढीले घरमा क्षति पुर्‍याएपछि प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बुटवल–११ का वडा सदस्य युवराज रानाले जानकारी दिए। उद्धार तथा स्थानान्तरण कार्यमा स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली खटिएको छ।

नदीमा जलसतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यसअघि नै नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। गएरातिसम्म निरन्तर वर्षा भएको बुटवल क्षेत्रमा आज बिहानदेखि भने मौसममा सुधार आई वर्षा रोकिएको छ।

धेरै पढिएको