१३ आश्विन २०८३, मंगलवार
Follow Us

सरकारले भन्यो : ‘पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ होइन, सुरक्षा थ्रेटपछि रेस्क्यू गरिएको हो’

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०८३, मंगलवार ११:२२

काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षा जोखिम देखिएपछि निवासबाट सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जबरालाई पक्राउ गरिएको नभई सुरक्षाका कारण रेस्क्यू गरिएको बताएका हुन्।

उनका अनुसार जबराको सुरक्षामा जोखिम देखिएपछि प्रहरीले उनलाई निवासबाट सुरक्षित स्थानमा लगेको हो। जबराले समेत थप सुरक्षा माग गर्दै निवेदन दिएको सरकारको दाबी छ।

‘पक्राउ गरिएको होइन, सुरक्षामा प्रश्न आएपछि रेस्क्यू गरेर लगिएको हो,’ पोखरेलले भने, ‘उहाँले थप सुरक्षा माग गरेर निवेदन पनि पठाउनुभएको छ। यसले पनि थ्रेट आएको पुष्टि गर्छ।’ सरकारले जबरालाई ‘जेन जेड’ समूहबाट सुरक्षा खतरा आएको भन्ने विवरण भने अस्वीकार गरेको छ।

संघीय निजामती विधेयक संसद्‌मा पठाउने निर्णय
सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संघीय संसद्‌मा पठाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो। लोक सेवा आयोगको परामर्शसहित फर्किएको विधेयक भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार मन्त्रिपरिषद्‌मा पठाएको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै अब विधेयक संघीय संसद्‌मा दर्ता गर्ने बाटो खुलेको छ।

सचिवमा आभा श्रेष्ठ कर्ण बढुवा
सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई नेपाल प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि कर्णसहित तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो।

धेरै पढिएको